मुग्लिनका प्रहरी निरीक्षक सिंहमाथि नाबालकलाई यातना दिएको आरोप, छानबिनको माग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले इच्छाकामना गाउँपालिकाका ८ जना नाबालकलाई यातना दिएको आरोप लागेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी भएको तथा तोडफोड गरेको भन्दै प्रहरी निरीक्षक सिंहले नाबालकमाथि अमानवीय व्यवहार गरेका आरोप लागेको हो ।

एक पीडित बालकका अनुसार, जेनजी आन्दोलनमा सहभागी भएको तथा तोडफोडमा संलग्न रहेको भन्दै उनीहरूलाई प्रहरी चौकीमा बोलाइएको थियो। चौकी पुगेपछि टी–सर्ट खोल्न लगाइएको र चुच्चो परेको बाइक चढाउने भर्याङमा घुँडा टेकेर हिँड्न बाध्य पारिएको उनले बताए।

त्यसपछि कार्यालयभित्र लगेर बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म घुँडा टेकाएर राखिएको पीडित बालकले बताए । सो क्रममा इन्स्पेक्टर सिंहले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको र अन्य चार जना साथीलाई प्रहरी चौकी वरिपरि घुँडा टेकाएर हिँड्न लगाइएको उनको दाबी छ ।

पीडित बालकका आफन्तहरूले इन्स्पेक्टर सिंहले नाबालकलाई खाली घुँडाले टेक्न लगाएर शारीरिक तथा मानसिक यातना दिएको, बालअधिकारको हनन गरेको र कानुनलाई आफ्नै ढंगले प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।

यता, आरोपित इन्स्पेक्टर सिंहले भने आफुमाथि लागेको आरोप अस्वीकार गर्दै नाबालकमाथि कुनै प्रकारको यातना नदिएको बताएका छन्। उनका अनुसार आन्दोलनका क्रममा एक किशोरले जेसीबीको सिसा फुटाएको सूचना आएपछि उनलाई बोलाएर त्यसको परिणामबारे सम्झाइबुझाइ गरिएको थियो।

‘त्यसरी सिसा फुटाउनु हुँदैन, भोलि क्षतिपूर्ति तिर्नुपर्‍यो भने सामान्य परिवारले कसरी धान्न सक्छ भनेर सम्झाएको हो,’ सिंहले भने, ‘ढुंगामुढा गर्ने अन्य केही भाइहरूलाई पनि बोलाएर सम्झाइबुझाइ गरिएको थियो। हामीले कसैलाई नियन्त्रणमा लिएका थिएनौं, आउने–जाने मात्र भएको हो।’

बालकहरूको घुँडामा चोट कसरी लाग्यो भन्ने प्रश्नमा सिंहले आन्दोलनकै क्रममा विभिन्न घटना भएको उल्लेख गर्दै त्यसपछि उनीहरूलाई बोलाएर सम्झाइबुझाइ गरिएको बताए। ‘सम्झाइबुझाइ गर्नु पनि आवश्यक थियो। त्यसपछि हामीले उनीहरूलाई पठाएका हौं,’ उनले भने।

उनले नाबालकलाई लामो समयसम्म राखिएको आरोप पनि अस्वीकार गर्दै घटना भएको ६–७ महिनापछि यस्तो आरोप सार्वजनिक भएकोप्रति आश्चर्य व्यक्त गरे। ‘सम्झाइबुझाइ बाहेक हामीले केही गरेका छैनौं। हामीले सम्झाई बुझाई गरेको चित्त नबुझेर आरोप लगाइएको हुन सक्छ, सिंहले भने ।

यता पीडित परिवारले भने घटनाबारे सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।

सिफारिस