काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले झुटा कागजात तयार गरी अर्काको छोरीलाई आफ्नै छोरी भनी नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा उनीहरूमाथि मुद्दा अघि बढाएको हो।
मुद्दा दायर गरिएका अन्यमा सिन्धुपाल्चोकको इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलसमेत रहेका छन्।
त्यस्तै, यस विषयमा छानबिन गर्न गठित समितिका संयोजक तथा तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
यसअघि मेयर सिंहलाई अख्तियारले पक्राउ गरी धरौटीमा रिहा गरेको थियो। भ्रष्टाचार आरोप लागेपछि उनी महानगरपालिकाका इतिहासमै यस्तो आरोप खेप्ने पहिलो मेयर बनेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।