नेपालका दृश्य सम्पदा विश्वसामु पुर्‍याउने अभियानः ‘नेपाल फोटो फेस्टिभल २०२६’ उत्कृष्ट तस्वीरलाई नगद पुरस्कार

दियोपोस्ट संवाददाता  

पोखरा । विश्वभरका लाखौं वेबसाइट सञ्चालनमा प्रयोग हुने खुला स्रोत सामग्री व्यवस्थापन प्रणाली वर्डप्रेसको फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्टिभल २०२६’ आगामी जेठ ३० गते कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा समापन हुने भएको छ।

विश्वभरका प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न सक्ने तस्वीरहरूको भण्डार विस्तार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको फेस्टिभलमा सहभागीहरूले वर्डप्रेस फोटो डाइरेक्टरीमा अपलोड गरेका उत्कृष्ट तस्वीरहरूलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ।

हाल विश्वका ४० प्रतिशतभन्दा बढी वेबसाइटमा प्रयोग हुने लोकप्रिय खुला स्रोत प्लेटफर्म वर्डप्रेसअन्तर्गतको फोटो डाइरेक्टरीले फोटोग्राफरहरूलाई आफ्ना तस्वीर विश्वव्यापी रूपमा साझा गर्ने अवसर प्रदान गर्दै आएको छ। नेपाल फोटो फेस्टिभल-२०२६ ले यस अभियानलाई नेपालको प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधतासँग जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ।

फेस्टिभलअन्तर्गत नेपाल तथा विश्वका विभिन्न देशबाट खिचिएका तस्वीरहरू वर्डप्रेस फोटो डाइरेक्टरीमा अपलोड भएका छन्। तीमध्ये उत्कृष्ट तस्वीर छनोट गरी नगद पुरस्कार प्रदान गरिनेछ।

सबै विधाबाट छनोट हुने सर्वोत्कृष्ट तीन तस्वीरलाई जनही १११ अमेरिकी डलर प्रदान गरिनेछ। त्यस्तै, उच्च गुणस्तरका तथा विविध तस्वीर योगदान गर्ने उत्कृष्ट तीन योगदानकर्तालाई जनही ७७ अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।

विभिन्न विधामा उत्कृष्ट ठहरिएका तस्वीरलाई ५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ। यसअन्तर्गत उत्कृष्ट वनस्पति, सम्पदा, संस्कृति, खाद्य फोटोग्राफी, सडक जीवन, वन्यजन्तु तथा पहिलो पटक योगदान गर्ने फोटोग्राफरतर्फका उत्कृष्ट तस्वीरलाई सम्मान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यी पुरस्कारहरूले फोटोग्राफरहरूलाई खुला स्रोत फोटो अभियानमा सहभागी हुन प्रेरित गर्नुका साथै नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जैविक विविधता तथा जनजीवनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पोखरा र घान्द्रुक केन्द्रित फेस्टिभलमा फोटोग्राफी, खुला स्रोत प्रविधि, पर्यटन प्रवर्द्धन तथा डिजिटल सिर्जनशीलतासम्बन्धी विविध कार्यक्रम सञ्चालन भइरहेका छन्। समापन समारोहमा उत्कृष्ट तस्वीर सार्वजनिक गरिनुका साथै विजेताहरूलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।

आयोजकले पुरस्कार रकमको मुद्रा रूपान्तरण गर्दा गोलाकार दर प्रयोग गरिने भएकाले वास्तविक विनिमय दरसँग केही फरक पर्न सक्ने जनाएको छ।

खुला स्रोत प्रविधि, सिर्जनात्मक अभिव्यक्ति र नेपालको दृश्य पहिचानलाई विश्व समुदायसँग जोड्ने लक्ष्य बोकेको ‘नेपाल फोटो फेस्टिभल २०२६’ ले नेपाली फोटोग्राफी क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्ने विश्वास गरिएको छ।

सिफारिस