नेपालमै पहिलो पटक ‘फुट एण्ड एंकल डिफर्मिटी करेक्शन’ कोर्ष सम्पन्न, ८ बिरामीको निःशुल्क शल्यक्रिया

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था स्टेप्सटुवाकको आयोजनामा नेपालमै पहिलो पटक सञ्चालन गरिएको चारदिने ‘फुट एण्ड एंकल डिफर्मिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत जटिल खुट्टा तथा गोलीगाँठो (फुट एण्ड एंकल) विकृतिबाट प्रभावित ८ जना बिरामीलाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा प्रदान गरिएको बताइएको छ।

जेठ २० देखि २३ सम्म नेपाल मेडिसिटीमा सञ्चालन भएको उक्त कार्यक्रमले जटिल फुट एण्ड एंकल विकृतिको उपचार, ज्ञान आदान–प्रदान तथा चिकित्सकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रमको सफल सञ्चालनमा नेपाल मेडिसिटीको अर्थोपेडिक विभागले प्रमुख भूमिका निर्वाह गरेको थियो। विशेषगरी मेडिसिटीका फुट एण्ड एंकल विशेषज्ञ डा। दमन झाको नेतृत्व र समन्वयमा अन्तर्राष्ट्रियस्तरको यो कार्यक्रम नेपालमा आयोजना सम्भव भएको बताइएको छ।

स्टेप्सटुवाक स्रोत–साधनको सीमित पहुँच भएका समुदायमा खुट्टा तथा गोलीगाँठोका जटिल विकृतिहरूको निःशुल्क शल्यक्रिया, पुनर्स्थापना सेवा तथा स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सक्रिय अन्तर्राष्ट्रिय संस्था हो। कार्यक्रमको आयोजना स्टेप्सटुवाकले गरेको थियो भने नेपाल मेडिसिटीले स्थानीय संयोजन, व्यवस्थापन तथा प्राविधिक सहजीकरण गरेको थियो।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटी केवल उपचार केन्द्र मात्र नभई निरन्तर सिकाइ, व्यावसायिक विकास तथा ज्ञान आदान–प्रदानको प्लेटफर्मका रूपमा स्थापित भएको बताए । उनले स्वास्थ्य सेवाको वास्तविक प्रगति पूर्वाधार र प्रविधिले मात्र नभई ज्ञान साझेदारी, सहकार्य तथा दक्ष जनशक्ति निर्माणबाट सम्भव हुने उल्लेख गरे ।

अध्यक्ष डा.महतोले अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीलाई नेपाली चिकित्सकहरूसँग आफ्नो अनुभव र विशेषज्ञता साझा गरेकोमा धन्यवाद दिँदै यस पहलले नेपालको फुट एण्ड एंकल उपचार क्षमतामा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी, स्टेप्सटुवाकका संस्थापक तथा अध्यक्ष डा.मार्क मायर्सनले तालिम, सहकार्य र सेवामार्फत बिरामीको उपचारस्तर सुधार गर्ने साझा लक्ष्यलाई पुनः दोहोर्‍याए ।

कार्यक्रममा चिलीका डा.क्रिस्टियन ओर्टिज, भारतका डा. राजेश साइमोन, पोर्चुगलका डा. म्यानुअल साउसा तथा अमेरिकाका डा. नरेन गुर्बानीलगायत विश्वप्रसिद्ध फुट एण्ड एंकल विशेषज्ञहरूको सहभागिता रहेको थियो। साथै स्टेप्सटुवाकसँग आबद्ध अन्तर्राष्ट्रिय प्रशिक्षार्थी चिकित्सकहरू पनि कार्यक्रममा सहभागी भएका थिए।

चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन शैक्षिक प्रस्तुतीकरण तथा वैज्ञानिक सत्रहरू आयोजना गरिएको थियो। दोस्रो दिन बिरामीहरूको विस्तृत परीक्षण, स्वास्थ्य इतिहास संकलन तथा शल्यक्रिया योजना निर्माण गरिएको थियो भने तेस्रो र चौथो दिन प्रत्यक्ष शल्यक्रिया सञ्चालन गरिएको थियो। कार्यक्रममा देशभरका विभिन्न अस्पतालका अर्थोपेडिक तथा फुट एण्ड एंकल क्षेत्रमा रुचि राख्ने चिकित्सकहरूको सहभागिता रहेको थियो।

यस अवसरमा नेपाल मेडिसिटीका फुट एण्ड एंकल सर्जन डा. दमन झाले नेपालमा पहिलो पटक यस्तो विशेष कोर्ष आयोजना गरिएको बताउँदै प्रत्यक्ष शल्यक्रिया सत्रमार्फत युवा चिकित्सकहरूले विश्वस्तरीय विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने अवसर प्राप्त गरेको उल्लेख गरे । उनका अनुसार कार्यक्रमअन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्मका जटिल खुट्टा विकृतिबाट प्रभावित ८ जना बिरामीको निःशुल्क शल्यक्रिया तथा उपचार गरिएको थियो ।

नेपाल मेडिसिटीले यस कार्यक्रमलाई उपचार सेवा प्रदान गर्ने अवसर मात्र नभई ज्ञान हस्तान्तरण, सीप विकास तथा नेपालको फुट एण्ड एंकल उपचार क्षमताको दीर्घकालीन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। यस पहलले भविष्यमा नेपालमै जटिल फुट एण्ड एंकल विकृतिहरूको विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिफारिस