काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग को तेस्रो संस्करण आगामी असोज दोस्रो सातादेखि सञ्चालन हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता असोज ८ देखि १७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना गरिने जानकारी दिएको हो ।
आयोजकका अनुसार सहभागी फ्रेन्चाइज टिम तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको हो । दशैंअघि आयोजना हुने भएकाले यसपटक दर्शकलाई खेलकुद र चाडपर्वको मनोरञ्जन एकसाथ प्रदान गर्ने लक्ष्य लिइएको छ ।
एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिगको रूपमा चिनिने यस प्रतियोगिताले नेपालको महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको दाबी छ । यसअघि सम्पन्न दुई संस्करणलाई सफल मान्दै तेस्रो संस्करणलाई अझ वृहत र परिष्कृत रूपमा आयोजना गरिने जनाइएको छ ।
पहिलो संस्करण काठमाडौंमा सम्पन्न भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो । तर केही प्राविधिक कारणले बीचमै स्थगित भएपछि बाँकी खेल र फाइनल काठमाडौंमै सम्पन्न गरिएको थियो । दोस्रो संस्करणमा कर्णाली यशविसले उपाधि जितेको थियो । सो संस्करणमा ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जा सहभागी थिए ।
तेस्रो संस्करणलाई लिएर टेक्निकल डाइरेक्टर जगदीश भट्ट ले प्रतियोगिता अझ भव्य हुने बताएका छन् । उनका अनुसार नेपालको महिला भलिबलले हाल एफआईभीबी विश्व वरियतामा स्थान बनाएको छ, एसियाको शीर्ष दशमा पुगेको छ र आगामी एसियन गेम्सका लागि पनि छनोट भइसकेको छ । उनले यस लिगले खेलाडीलाई आर्थिक अवसर समेत प्रदान गर्ने भएकाले खेल विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय खेलकुद परिषद् को स्तरोन्नत कभर्डहलमा यसअघि काभा महिला भलिबल प्रतियोगितालगायत राष्ट्रिय स्तरका प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यसपटक पनि सोही स्थलमा लिग आयोजना गरिने भएको हो ।
यसैबीच, नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन मंगलबार दिउँसो ३ बजे नेपाल खेलकुद पत्रकार मञ्च, त्रिपुरेश्वरमा हुनेछ । उक्त कार्यक्रम नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनले आयोजना गर्ने जनाएको छ ।