काठमाडौं । प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूको निरन्तर अवरोधका कारण सभामुख डीपी अर्यालले बैठक स्थगित गर्दै अर्को बैठक जेठ २७ गते बस्ने जानकारी दिएका छन्।
बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने, प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने तथा नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।
सभामुख अर्यालले पटक-पटक सांसदहरूलाई आफ्नो स्थानमा बसेर संसद्को कारबाही अघि बढाउन आग्रह गरे पनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेनन्। अवरोध कायम रहेपछि बैठकको कार्यसूची अघि बढ्न नसकेको हो।
प्रधानमन्त्री शाहको विवादित अभिव्यक्तिलाई लिएर केही समययता प्रतिनिधिसभामा लगातार अवरोध भइरहेको छ। विपक्षी दलहरूले माग सम्बोधन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् भने सत्ता पक्षले संवादमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ।
संसदीय गतिरोध लम्बिँदै जाँदा विधायन तथा अन्य संसदीय कार्यसमेत प्रभावित भएका छन्। राजनीतिक दलहरूबीच सहमतिको प्रयास जारी रहे पनि हालसम्म कुनै ठोस निष्कर्ष ननिस्कँदा संसद् सञ्चालन अन्योलमा परेको छ।