विश्वकप २०२६ः प्रशिक्षक गन्तीमा फ्रान्स र अर्जेन्टिना च्याम्पियन

दियोपोस्ट संवाददाता  

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि देशको टिमबाट खेल्न खेलाडी त्यही देशको नागरिक हुनुपर्छ । विश्वकपमा पनि नियम त्यही हो । यसअर्थमा अहिले आजबाट मेक्सिको, अमेरिका र क्यानाडामा सुरु हुने फिफा विश्वकपमा ४८ देशबाट २६ का दरले कुल १२४८ खेलाडी उपाधिको लक्ष्यसहित प्रतिस्पर्धाको मैदानमा हुनेछन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियममा कुनै पनि देशको टिममा रहेर खेल्नका लागि सम्बन्धित देशको नागरिक हुनै पर्छ । तर टिमका सबै खेलाडीलाई नेतृत्व गर्ने, खेलको रणनीति तयार गर्ने, कुन खेलमा वा कुन अवस्थामा कसरी प्रस्तुत हुने जस्ता विषयमा निर्णय गर्ने सबै अधिकार रहने प्रशिक्षक बन्नका लागि चाँही जुन सुकै देशको नागरिक भए पनि पाइन्छ ।

यही कारण हो, आ–आफ्नो देशलाई प्रतिनिधित्व गर्दै त्यहाँ पुग्ने सबै खेलाडी त्यही देशका नागरिक छन् । विश्वकपमा भाग लिएका सबै ४८ देशका समान २६ नागरिकले सहभागिता जनाउँदैछन् । तर प्रशिक्षकमा त्यस्तो छैन । कतिपय देशबाट प्रशिक्षक बनेर टचलाइनबाट पूरा टिमको सबैखाले नेतृत्व लिनेमा एक जना पनि प्रतिनिधि छैनन् ।

यसपाली विश्वकपका टिमलाई नेतृत्व गर्न प्रशिक्षक पठाउने मामिलामा फ्रान्स र अर्जेन्टिना संयुक्त च्याम्पियन हुन् । दुवैले समान ६ प्रशिक्षकलाई विभिन्न टोलीको नेतृत्व गर्न उत्तर अमेरिका पठाएका छन् ।

आसन्न विश्वकपमा ४८ देशका टोलीलाई २५ देशका प्रशिक्षकले नेतृत्व गर्दैछन् । २३ देशबाट एकजना पनि प्रशिक्षक छैनन् । उत्तर अमेरिकाका तीन देशमा उपाधिमा चुनौती प्रस्तुत गर्न ४८ देशलाई नेतृत्व गर्दै पुग्ने प्रशिक्षकमा फ्रान्स र अर्जेन्टिनाबाट सबभन्दा धेरै ६ जना रहँदा जर्मनीका चार प्रशिक्षकले विश्वकपमा चार फरक टिमको नेतृत्व गर्दैछन् । त्यस्तै इटाली, बोस्निया हर्जगोभिना र स्पेनका समान तीन प्रशिक्षक विश्वकपको प्रतिस्पर्धामा टचलाइनमा देखिनेछन् ।

त्यस्तै अस्ट्रेलिया, इङल्यान्ड्, नेदरल्यान्ड्स र बेल्जियमबाट समान २ प्रशिक्षक विश्वकपको मञ्चमा हुनेछन् भने अमेरिका, इजिप्ट, इरान, केप भेर्डे, चेक गणतन्त्र, जापान, डेनमार्क, दक्षिण कोरिया, नर्वे, पोर्चुगल, मेक्सिको, मोरक्को, सेनेगल, स्कटल्यान्ड र स्विट्जरल्यान्डबाट पनि एक÷एक जना प्रशिक्षकको प्रतिनिधित्व हुनेछ ।

सबभन्दा धेरै तीन पटकको विश्व च्याम्पियन अर्जेन्टिनाका ६ प्रशिक्षकमध्ये विश्वकपमा माउरिसियो पोचेटिन्होले आयोजक अमेरिकाको टिमलाई नेतृत्व गर्नेछन् । लियोनेल स्कालोनीले आफ्नै देश, अर्थात साविक विजेता अर्जेन्टिनाको नेतृत्व गर्दा नेस्टर लोरेन्जोले कोलम्बिया, सेवास्टिन बेकासेसेले इक्वेडर, गुस्ताभो अल्फारोले पाराग्वे तथा मार्सेलो विएल्साले उरुग्वेको टिमलाई टचलाइनबाट निर्देशित गर्नेछन् ।

दुई पटकका च्याम्पियन फ्रान्सले पनि विश्वकप २०२६ लाई ६ जना प्रशिक्षक दिएको छ । फ्रान्सका सेवास्टिन डेसाब्रेले कंगो, इमर्स फाएले आइभोरी कोष्ट, साब्री लामोचीले ट्युनिसिया, सेवास्टिन मिग्नेले हाइटी, रुडी गार्सियाले बेल्जियमको टोलीलाई नेतृत्व गर्दा डिडियर डेशच्याम्पसले आफ्नै देशको टिमको जिम्मेवारी लिएका छन् ।

जर्मनीका चार प्रशिक्षकमा जुलियन नागेल्सम्यानले चार पटकको पूर्व च्याम्पियन आफ्नै देशलाई नेतृत्व प्रदान गर्नेछन् । जर्जियस डोनिसले साउदी अरेबिया, राल्फ राग्निकले अस्ट्रिया, तथा थोमस टचेलले इङ्ल्यान्डलाई प्रशिक्षित गर्नेछन् ।

इटाली लगातार तेस्रो पटक विश्वकपलाई छनोट हुन असफल भएको छ । इटालीबाट राष्ट्रिय टोली अनुपस्थित भए पनि तीन प्रशिक्षकले विश्वकपमा चार पटकको पूर्व च्याम्पियनको प्रतिनिधित्व गर्नेछन् ।

इटालीबाट फाबियो कानाभारोले उज्वेकिस्तान तथा कार्लो एन्सेलोट्टीले ब्राजिल तथा भिन्सेन्जो मोन्टेलाले टर्कीस टोलीको जिम्मेवारी लिएका छन् ।

यसैगरी बोस्निया हर्जगोभिनाका सेर्गी बार्बेजले आफ्नै देशको जिम्मेवारी लिँदा भ्लादिमिर पेट्कोभिचले अल्जेरिया तथा ज्लाट्को डालिचले क्रोएसियाको नेतृत्व गर्नेछन् । त्यस्तै स्पेनका लुइस डे ला फोन्टेले आफ्नै देशलाई नेतृत्व गर्दा जुुलियन लोप्तेगीले कतार तथा रोबर्टो मार्टिनेजले पोर्चुगलको टिमलाई डोर्याउने छन् ।

अस्ट्रेलियाका टोनी पोपोभिच आफ्नै देशको टिममा रहँदा ग्राहम आर्नोल्डले इराकको जिम्मेवारी लिएका छन् । इङ्ल्यान्डका प्रशिक्षकहरुमा डारेन बाजिलेको काँधमा न्युजिल्यान्ड तथा ग्राहम पटरको जिम्मामा स्विडेनको टिम छन् ।

नेदरल्यान्ड्सका रोनाल्ड कोम्यानले आफ्नै देशको टिमलाई नेतृत्व गर्दा डिक एड्भोकेटको जिम्मामा कुराकाओ तथा बेल्जियमका प्रशिक्षक मोहमद उआबीले मोरक्को र ह्युगो ब्रुसले दक्षिण अफ्रिकाको टोलीलाई विश्वकपमा नेतृत्व गर्दैछन् ।

क्यानाडाको टिममा अमेरिकाका जेसी मार्स प्रशिक्षकको भूमिकामा छन् भने डेनमार्कका थोमस क्रिस्टेनसेनले पानामालाई नेतृत्व गरिरहेका छन् । त्यस्तै पोर्चुगलका कार्लोस क्विरेज घाना र मोरक्कोका जमाल सेलामी जोर्डनको टिमको जिम्मेवारीमा छन् ।

विश्वकपमा १८ देशलाई आफ्नै प्रशिक्षकले नेतृत्व गर्दैछन् । तिमध्ये अर्जेन्टिना, फ्रान्स, जर्मनी, बोस्निया हर्जगोभिना, स्पेन, अस्ट्रेलिया र नेदरल्यान्ड्ससँगै इजिप्ट, इरान, केप भेर्डे, चेक गणतन्त्र, जापान, दक्षिण कोरिया, नर्वे, मेक्सिको, सेनेगल, स्कटल्यान्ड र स्विट्जरल्यान्ड हुन् ।

आफ्नै देशको टिम नेतृत्व गर्नेहरुमा इजिप्टका होसाम हसन, इरानका अमिर घालेनोई, केप भेर्डेका बुबिस्टा, चेक गणतन्त्रका मिरोस्लाभ कौबेक, जापानका हाजिमे मोरियासु, दक्षिण कोरियाका ह्युङ म्युङ बो, नर्वेका स्टाल सोल्बाकेन, मेक्सिकोका हाभियर अग्विरे, सेनेगलका पेपे थियाउ, स्कटल्यान्डका स्टिभ क्लार्क र स्विट्जरल्यान्डका मुरात याकिन हुन् ।