काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अवैध रूपमा प्रसारण वा स्ट्रिमिङ हुन नदिन देशभरका मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।
प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले बिहीबार जारी गरेको पत्रमा नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डीगो ब्रोडकास्टिङ कन्सोर्टियमसँग रहेको उल्लेख गरिएको छ।
प्राधिकरणका अनुसार केही पाइरेटेड तथा अनधिकृत वेबसाइट र एपमार्फत विश्वकपका खेलहरू निःशुल्क स्ट्रिमिङ गर्ने प्रयास भइरहेको जानकारी प्राप्त भएकाले सेवा प्रदायकलाई त्यस्ता गतिविधिमाथि निगरानी बढाउन र अवैध प्रसारण रोक्न आवश्यक कदम चाल्न आग्रह गरिएको हो। यसका साथै सम्भावित अवैध प्रसारण हुने ३५ वटा वेबसाइट तथा प्लेटफर्मको सूचीसमेत सार्वजनिक गरिएको छ।
नेपालमा यसपटक विश्वकपका खेलहरू टेलिभिजनतर्फ हिमालय स्पोर्ट्स च्यानलमार्फत र डिजिटल प्लेटफर्मतर्फ डीगो एपमार्फत प्रसारण हुनेछन्। फिफाले नेपालका लागि विशेष (एक्सक्लुसिभ) प्रसारण अधिकार प्रदान गरेकाले विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ सेवाले नेपालभित्र विश्वकप प्रसारण गर्न पाउने छैनन्।
दर्शकहरूले निर्धारित शुल्क तिरेपछि विश्वकपका सबै १०४ खेल हेर्न सक्नेछन्। टेलिभिजन प्याकेजको शुल्क करसहित ९९९ रुपैयाँ निर्धारण गरिएको छ भने मोबाइल(ओन्ली प्याकेजका लागि ५४९ रुपैयाँ लाग्नेछ। मोबाइल र ल्यापटप दुवै उपकरणमा खेल हेर्न चाहने प्रयोगकर्ताले पनि ९९९ रुपैयाँको प्याकेज लिन सक्नेछन्।
कसरी लिने विश्वकप प्याकेज?
डिजिटल टिभी (केबल, डीटीएच वा आईपीटीभी) प्रयोगकर्ताले हिमालय स्पोर्ट्स एचडी च्यानल खोल्दा स्क्रिनमा देखिने क्यूआर कोड स्क्यान गरी घरबाटै विश्वकप प्याकेज खरिद गर्न सक्नेछन्। डिजिटल वालेटमार्फत भुक्तानी गरेपछि सेवा सक्रिय हुनेछ।
त्यस्तै, इसेवा वा खल्ती जस्ता डिजिटल वालेट प्रयोग गरेर पनि ग्राहकले आफ्नो टिभी सेवा प्रदायक चयन गरी युजर आईडी प्रविष्ट गरेर विश्वकप प्याकेज खरिद गर्न सक्नेछन्। यद्यपि, विश्वकप प्याकेज प्रयोग गर्न नियमित टिभी सदस्यता सक्रिय हुनुपर्नेछ। नियमित सेवा निष्क्रिय भएमा विश्वकप प्याकेज मात्र खरिद गरेर सेवा सञ्चालन हुने छैन।
मोबाइल वा ल्यापटपमा खेल हेर्न चाहने दर्शकले डीगो एप डाउनलोड गरी लगइन वा रजिस्टर गर्नुपर्नेछ। साथै, इसेवा वा खल्ती एपबाट पनि फिफा विश्वकप प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
डीगोले दर्शकका लागि ५४९ रुपैयाँको ‘मोबाइल(ओन्ली’ पास उपलब्ध गराएको छ, जसमार्फत सबै १०४ खेल नेपाली वा अंग्रेजी कमेन्ट्रीमा प्रत्यक्ष हेर्न सकिने कम्पनीले जनाएको छ। उक्त पासमार्फत प्रयोगकर्ताले १०८०पी (फुल एचडी) गुणस्तरमा खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्