काठमाडौँ । काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका-४ का स्थानीय बासिन्दाले सार्वजनिक जग्गा संरक्षणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पहलको माग गरेका छन्।
स्थानीयहरूले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री वितरण गरिएको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, वन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक लगायत विभिन्न निकायमा उजुरी दिएका थिए। उनीहरूको दाबी अनुसार उक्त उजुरीमाथि प्रभावकारी अनुसन्धान हुन नसकेको भन्दै थप पहलका लागि प्रधानमन्त्रीसमक्ष निवेदन पेश गरिएको हो।
स्थानीयका अनुसार साविक मेथिनकोट गाविस-२ हाल नमोबुद्ध नगरपालिका-४ मा रहेको कित्ता नम्बर ३०४ को करिब ११ रोपनी ११ आना २ पैसा क्षेत्रफलको जग्गा परापूर्वकालदेखि गौचरन तथा २०३३ सालको नापीमा वन क्षेत्रका रूपमा कायम रहेको थियो। सो जग्गा पछि व्यक्तिगत नाममा दर्ता गरी बिक्री गरिएको उनीहरूको आरोप छ।
उजुरीकर्ताहरूले उक्त जग्गा दर्ता तथा बिक्री प्रक्रियामा केही व्यक्तिसहित सम्बन्धित कार्यालयका कर्मचारीहरूको समेत संलग्नता रहेको आशंका व्यक्त गरेका छन्। यस सम्बन्धमा २०८२ साल मंसिर महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न सरकारी निकायमा औपचारिक उजुरी दर्ता गरिएको थियो।
स्थानीय बासिन्दाको भनाइ अनुसार उजुरी परेपछि सम्बन्धित व्यक्तिहरूले जग्गामा खेतीपाती गरी भोगचलन देखाउने प्रयास गरेको समेत आरोप लगाइएको छ। सार्वजनिक जग्गामा गरिएको भनिएको गतिविधिको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।
यस विषयमा पुनः प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा नमोबुद्ध नगरपालिकामा निवेदन पेश गरिएको स्थानीयहरूले बताएका छन्। हालसम्म उक्त जग्गाको स्वामित्व र कानुनी अवस्थाबारे स्पष्ट निर्णय नभएको भन्दै उनीहरूले सम्बन्धित निकायलाई शीघ्र अनुसन्धान गरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्न आग्रह गरेका छन्।