काभ्रे बुच्चाकोट बस दुर्घटनाः ७ जनाको मृत्यु, १५ घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको अरनिको यातायातको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार बस बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाग्रस्त बसमा २५ देखि ३० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनालगत्तै प्रहरी तथा स्थानीयवासी उद्धार कार्यमा खटिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।