काठमाडौंमा सम्पन्न ‘समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता’ शीर्षकको क्षेत्रीय सम्मेलनले कृत्रिम बुद्बुधिमत्ता एआई बढ्दो श्रम गतिशीलता र जलवायु परिवर्तनले तीव्र रूपमा रूपान्तरण गरिरहेको विश्व सन्दर्भमा नेपालको विकास मोडेलमा निजी क्षेत्रको भूमिकालाई अझ संस्थागत र विस्तार गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल उद्योग परिसंघ सिएनआई र हेल्भेटास नेपालको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा नेपालसहित क्षेत्रका विभिन्न देशका करिब १५० जना नीति निर्माता, व्यवसायी, विकासकर्मी, वित्तीय संस्थाका प्रतिनिधि तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो। कार्यक्रममा सीप विकास, उद्यमशीलता प्रवर्द्धन र दिगो आर्थिक विकासमा निजी क्षेत्रको योगदान र यसको प्रभावकारी मोडेलबारे छलफल गरिएको थियो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले राज्यका सीमित वित्तीय स्रोत र कार्यगत क्षमताका कारण समावेशी विकासका लागि गतिशील निजी क्षेत्र अनिवार्य भएको उल्लेख गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताए। पूर्व अर्थमन्त्री रामेश्वर खनालले पनि लगानी, निर्यात, ऊर्जा र रोजगारी सिर्जनामा निजी क्षेत्रको विश्वास बढाउने वातावरण आवश्यक रहेको जोड दिए।
सिएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकार, निजी क्षेत्र, श्रमिक र विकास साझेदारबीचको सहकार्यलाई नयाँ “विकास सम्झौता” का रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। हेल्भेटास एसियाका प्रतिनिधि डा। जुएजुर्ग मर्जले निजी क्षेत्र संलग्नता केवल स्रोत परिचालन नभई साझा मूल्य सिर्जनाको संरचित साझेदारी भएको बताए। स्विस विकास तथा सहयोग नियोग ९क्म्ऋ० का उपप्रमुख माथियास मायरले दिगो विकासका लागि लागत, जोखिम र जिम्मेवारी बाँडफाँडसहितको सहकार्य आवश्यक हुने धारणा राखे।
हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले प्रभावकारी निजी क्षेत्र संलग्नता सम्बन्ध र विश्वासमा आधारित हुनुपर्ने उल्लेख गर्दै बजार प्रणालीलाई अझ समावेशी बनाउनुपर्ने बताए।
सम्मेलनमा नेपाल, म्यानमार, बंगलादेश र भियतनामका प्रतिनिधिहरूबीच सीप विकास, उद्यमशीलता र दिगो विकासका विषयमा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूले निजी क्षेत्रलाई केवल लाभग्राही नभई सह-लगानीकर्ता, नवप्रवर्तनकर्ता र दीर्घकालीन विकास परिणामका साझेदारका रूपमा स्वीकार गर्नुपर्ने निष्कर्ष निकाले।
यसै अवसरमा बागमती प्रदेशमा आयोजित सीप प्रतियोगितामा सूचना प्रविधि, अटोमोबाइल र आतिथ्य क्षेत्रका युवा प्रशिक्षार्थीहरूले आफ्नो सीप प्रदर्शन गरेका थिए। डिजिटल सेवा र उत्पादनसम्बन्धी मार्केटप्लेसमार्फत सीप विकास, रोजगारी र उद्यमशीलतामा डिजिटल नवप्रवर्तनको प्रभाव पनि प्रस्तुत गरिएको थियो।
समग्रमा सम्मेलनले निजी क्षेत्र, सरकार र विकास साझेदारबीचको सहकार्यलाई अझ सुदृढ गर्दै समावेशी, उत्थानशील र दिगो आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने साझा सन्देश दिएको छ।