काठमाडौं । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका उत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा आयोजित विशेष समारोहमा सम्मान गरिएको छ। अजमेरा फेसन डिजाइन एक्सिलेन्स अवार्ड २०२६ अन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाहरूलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको हो।
यस वर्ष तीन विधामा पुरस्कार वितरण गरिएको थियो। ‘बेस्ट इन्गेजमेन्ट भिडियो’ विधामा नमामी शाक्य उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भइन्। त्यस्तै, ‘बेस्ट ब्रान्ड भिडियो’ विधामा प्रथा जोशीले उपाधि जित्दै एक लाख रुपैयाँ नगद पुरस्कार हात पारिन्। ‘बेस्ट कन्सेप्ट एन्ड स्टोरीटेलिङ’ विधामा सुभाना कायस्थ विजयी भइन् र उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
प्रत्येक विधामा अन्तिम चरणका लागि छनोट भएका तीन–तीन जना प्रतिस्पर्धीको नामावली सार्वजनिक गरिएको थियो। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक–एक जनालाई विजेता घोषणा गर्दै नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
विजेताहरूलाई अजमेरा फेसन लिमिटेड भारतका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय अजमेराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको प्रस्तुतिमा तथा अजमेरा फेसन प्रालिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
आयोजकका अनुसार अवार्ड कार्यक्रमको उद्देश्य फेसन तथा डिजिटल क्षेत्रमा सक्रिय सर्जक, स्टोरीटेलर, इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सिर्जनशीलतालाई थप प्रोत्साहन गर्नु हो।
कार्यक्रममा फेसन उद्योगसँग आबद्ध व्यवसायी, कलाकार, सामाजिक सञ्जाल प्रभावक, डिजिटल क्रिएटर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले यस कार्यक्रमलाई सिर्जनशीलता, प्रेरणा, नेटवर्किङ र सम्मानको साझा मञ्चका रूपमा प्रस्तुत गरेको जनाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल कन्टेन्ट निर्माण र फेसन उद्योगको विस्तारसँगै यस्ता सम्मान तथा अवार्ड कार्यक्रमहरूको संख्या बढ्दै गएको छ। यस्ता कार्यक्रमहरूले नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई प्रिफ्याब प्यानल नेपाल, १०० पसल कुमारीपाटी, जेबी अटोमोटिभ तथा कलश स्टक मार्केटलगायत विभिन्न संस्थाहरूले सहयोग गरेका थिए।

