५३३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा गठन, संयोजकमा दलजित श्रीपाली र सहसंयोजक राम औतार पासवान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत विभिन्न राजनीतिक दलनिकट दलित सङ्गठनहरू एकीकृत भई ५३३ सदस्यीय नेपाल दलित मोर्चा गठन गरिएको छ।

काठमाडौँमा सम्पन्न एकता बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा मोर्चाको औपचारिक घोषणा गरिएको हो। पार्टीका केन्द्रीय सदस्य तथा दलित र सीमान्तकृत अल्पसङ्ख्यक विभाग प्रमुख परशुराम रम्तेल ले ५३३ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेका हुन्। उनका अनुसार ६७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ।

नवगठित मोर्चाको संयोजकमा तत्कालीन नेपाल दलित मुक्ति मोर्चा का अध्यक्ष दलजित श्रीपाली चयन भएका छन्। उनी पूर्व संविधानसभा सदस्य तथा पूर्व मन्त्री समेत हुन्। त्यस्तै सहसंयोजकमा तत्कालीन दलित मुक्ति सङ्गठन का अध्यक्ष राम औतार पासवान चयन भएका छन्, जो दोस्रो संविधानसभाका सदस्य रहिसकेका छन्।

मोर्चा गठनमा विभिन्न दलनिकट दलित संगठनहरूको सहभागिता रहेको छ। यसमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठन, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल निकट श्रमिक समुदाय मोर्चा नेपाल, डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी निकट नेपाल समाजवादी दलित मुक्ति सङ्गठन तथा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा सहभागी भएका छन्।

आइतबारबाट सुरु भएको एकता बैठक सोमबारसम्म जारी रहने जनाइएको छ। संयोजक श्रीपालीका अनुसार मोर्चाले दलित समुदायका अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दामा साझा कार्यक्रम बनाएर अघि बढ्ने लक्ष्य लिएको छ।

बैठकमा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बास्कोटा, गणेशमान पुन, तिलक परियार, तेजबहादुर मिजार, संरक्षक रणेन्द्र बराली, पदम सुन्दास, सल्लाहकार भुवन सुनार, तथा केन्द्रीय सदस्यहरू दुर्गा परियार, डा. मित्र परियार, कमला विक, गोपाल परियार, गोविन्द विकलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

सिफारिस