गोदावरीमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेपछि आलोचना तीव्र, वन कार्यालयले भन्यो-‘दुर्घटनावश खसेको हो’

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले जीविकोपार्जनका लागि प्रयोग गर्दै आएको टेम्पो वन कार्यालयका कर्मचारीले भीरबाट खसालेको घटना सार्वजनिक भएपछि व्यापक आलोचना भएको छ।

शनिबार गोदावरी सामुदायिक वन क्षेत्र अन्तर्गत गाईमारे चुरे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले धामीको टेम्पो धकेलेर भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो। घटनापछि सर्वसाधारणदेखि सांसदसम्मले वन कर्मचारीको व्यवहारप्रति प्रश्न उठाएका छन्।

पीडित धनादेवी धामीले आफूले सामान राखेर बिक्री गर्दै आएको टेम्पो नै आफ्नो गुजारा चलाउने मुख्य आधार रहेको बताउँदै उक्त कार्यले आफूलाई ठूलो क्षति पुगेको गुनासो गरेकी छन्।

यता डिभिजन वन कार्यालय कैलालीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे सामाजिक सञ्जालमा फैलाइएका केही सूचनालाई भ्रामक र अतिरञ्जित भएको दाबी गरेको छ।

कार्यालयका अनुसार उक्त टेम्पो कुनै चलायमान सवारीसाधन नभई चक्का र इन्जिन बिग्रिएको, गुडाउनसमेत नमिल्ने अवस्थामा रहेको पुरानो संरचना थियो, जसलाई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालनका लागि प्रयोग गरिएको थियो।

विज्ञप्तिमा सो क्षेत्रमा विगत लामो समयदेखि सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी खोका तथा छाप्रा निर्माण गर्ने क्रम चलिरहेको उल्लेख गर्दै अतिक्रमण हटाउने अभियानअन्तर्गत एक महिनाअघि नै सम्बन्धित पक्षलाई संरचना हटाउन निर्देशन दिइएको जनाएको छ। अन्य संरचना हटाइए पनि उक्त टेम्पो नहटाइएको दाबी वन कार्यालयको छ।

वन कार्यालयका अनुसार शनिबार पुनः अतिक्रमण हटाउने क्रममा कर्मचारीहरूले टेम्पोलाई पन्छाउन खोज्दा भिरालो भू-सतह र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको हो। कार्यालयले कर्मचारीले जानाजानी भीरबाट खसालेको भन्ने आरोप अस्वीकार गर्दै घटनालाई गलत ढंगले प्रचारप्रसार नगर्न आग्रह गरेको छ।

वन संरक्षणका नाममा गरिने कारबाहीको मानवीय पक्ष, गरिब तथा विपन्न नागरिकको जीविकोपार्जन र सरकारी निकायको जिम्मेवारीका बारेमा सामाजिक संजालमा तीव्र बहस सुरु भएको छ। सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन र पीडितलाई उचित न्याय तथा क्षतिपूर्तिको मागसमेत उठ्न थालेको छ।

सिफारिस