काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने निर्णयले नेपाललाई स्वास्थ्य, आरोग्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
काठमाडौंमा आयोजित ‘आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ-२०२६’मा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले हिमाल, जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार प्रणालीजस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटन क्षेत्रमा विशाल सम्भावना सिर्जना गरेको उल्लेख गरे।
उनले नेपाल चेम्बर अफ कमर्सले आरोग्य दशक अभियानलाई पूर्ण समर्थन गर्ने जनाउँदै यस पहलबाट स्वास्थ्य क्षेत्रमा लगानी, अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे।
अग्रवालले सन् १९५१ मा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सले सात दशकभन्दा बढी समयदेखि व्यापार, उद्योग, पर्यटन तथा आर्थिक कूटनीतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गराए।
उनका अनुसार विश्व स्वास्थ्य प्रणाली अहिले उपचारमुखी अवधारणाबाट स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम, जीवनशैली व्यवस्थापन तथा समग्र कल्याणतर्फ केन्द्रित हुँदै गएको छ। कोभिड–१९ महामारीले स्वास्थ्य प्रणालीको सुदृढता, मानसिक स्वास्थ्य, स्वस्थ जीवनशैली तथा समुदायस्तरीय तयारीको महत्वलाई थप उजागर गरेको उनले बताए।
परम्परागत चिकित्सा प्रणाली र आधुनिक विज्ञानबीचको सहकार्य नै भविष्यको स्वास्थ्य सेवाको आधार बन्ने उल्लेख गर्दै उनले कृत्रिम बौद्धिकता (एआई), डिजिटल स्वास्थ्य, टेलिमेडिसिन, जैव प्रविधि तथा डाटा विश्लेषणजस्ता प्रविधिले स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र कार्यक्षमताका नयाँ अवसर सिर्जना गरिरहेको बताए।
नेपालका जडीबुटी, प्राकृतिक उपचार पद्धति, योग तथा ध्यानलाई अनुसन्धान र नवप्रवर्तनमार्फत वैज्ञानिक ढंगले विश्व बजारमा प्रवर्द्धन गर्न सके आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
सम्बोधनका क्रममा उनले नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धको चर्चा गर्दै स्वास्थ्य तथा आरोग्य क्षेत्रमा सहकार्य विस्तारले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने बताए। संयुक्त अनुसन्धान, शैक्षिक आदान-प्रदान, औषधि उद्योग, जडीबुटीजन्य उत्पादन तथा स्वास्थ्य पर्यटनका क्षेत्रमा सहकार्य बढाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा विकास साझेदारबीचको समन्वयबाट मात्र समावेशी, नवप्रवर्तनशील र दिगो स्वास्थ्य प्रणाली निर्माण सम्भव हुनेमा उनले जोड दिए।
अध्यक्ष अग्रवालले ‘आयुष कन्क्लेभ-२०२६’ले नयाँ साझेदारी विकास, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा मानव कल्याण र दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा कन्क्लेभको चौथो संस्करण जुन १४ मा काठमाडौंमा आयोजना गरिएको हो। आयुष प्रणालीको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा स्वास्थ्य क्षेत्रका पेशाकर्मीलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल, भारत, बंगलादेश तथा यूएईका आयुर्वेद विशेषज्ञ, चिकित्सक, अनुसन्धानकर्ता र प्राविधिकसहित २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।
यसअघि भारतका आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक आयोजना भइसकेको आयुष कन्क्लेभ पहिलो पटक नेपालमा सम्पन्न भएको हो। कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका उच्च अधिकारीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो।