गायक शिव परियारको नयाँ गजल ‘माया’ सार्वजनिक, संगीतप्रेमीलाई नयाँ स्वाद दिने विश्वास

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली गजल तथा सुगम संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका लोकप्रिय गायक शिव परियारको नयाँ गजल ‘माया’ सार्वजनिक भएको छ। “नसोच्नु म हारेर हार्नेछ माया, कसै न कसैले सिंगार्नेछ माया” बोलबाट सुरु हुने उक्त गजलमा नृपेश उप्रेतीको शब्द रचना तथा केशव पौडेलको संगीत रहेको छ। गजललाई पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन्।

सुगम संगीत, गजल तथा पार्श्व गायनमा अब्बल तथा सफल गायक परियारले लामो अन्तरालपछि यो नयाँ गजल श्रोतामाझ ल्याएका हुन्। ‘ए वान म्युजिसियन रेकर्डिङ स्टुडियो’मा रेकर्ड गरिएको गजलमा राजेश श्रेष्ठले रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ गरेका छन्। गजलको लिरिकल भिडियो सार्वजनिक गरिएको छ, जसको सम्पादन ठाकुर सुवेदी ‘विश्वास’ले गरेका छन्।

गायक शिव परियारले ‘माया’ गजलले संगीतप्रेमीहरूलाई फरक अनुभूति र स्वाद प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाली मूलधारको संगीतप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धतालाई आत्मसात गर्दै आफूले गायनमा उच्चतम प्रयास गरेको उनको भनाइ छ।

गजलकार नृपेश उप्रेतीले बहरमा लेखिएको यस गजलले नेपाली सांगीतिक गजलको विकास र प्रवर्द्धनमा सानो भए पनि सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले यो गजल आफ्नो आगामी गजलसंग्रह ‘आगो रहरको’मा समावेश हुने जानकारी पनि दिएका छन्।

‘माया’ गजल टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल तथा स्पोटीफाइ, एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिकजस्ता विभिन्न डिजिटल अडियो प्लेटफर्ममा एकैसाथ उपलब्ध रहेको छ।