काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका विस्थापित सुकुम्बासी परिवारले खाद्यान्न नपाएको भन्दै सोमबार विरोध प्रदर्शन गरेका छन्। बिहानदेखि नै खाना उपलब्ध नभएको गुनासो गर्दै उनीहरूले होल्डिङ सेन्टरको मूल गेटमा थाल ठटाएर असन्तुष्टि जनाएका हुन्।
विस्थापितहरूको भनाइ अनुसार नगरपालिका र सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा खाद्यान्न संकट भएको हो । समस्या समाधानका लागि सम्बन्धित कर्मचारीसँग जानकारी लिन खोज्दा पनि स्पष्ट जवाफ नपाएको उनीहरूको आरोप छ।
एक विस्थापित महिलाले आफूहरूलाई खाना नदिइएको मात्र होइन, बालबालिकाको पठनपाठनसमेत प्रभावित भएको बताइन्। ‘हामीले खाना खान पाएका छैनौँ, हाम्रा बालबच्चा विद्यालय जान सकेका छैनन्। सरकारले आजदेखि भातसमेत नदिने भनेको सुनिएको छ, अब हामी के गर्नेर?’ उनले दुःख व्यक्त गरिन्।
यता, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले भने क्याटरिङ सेवा परिवर्तनको प्रक्रियाका कारण खाना वितरणमा ढिलाइ भएको जानकारी दिए। उनका अनुसार नयाँ व्यवस्थापन लागू हुने क्रममा केही समय समस्या देखिएको हो। ‘आजदेखि क्याटरिङ व्यवस्थापन परिवर्तन हुँदैछ। केही समयमै प्याकेटमा खाना उपलब्ध गराइनेछ र बेलुकादेखि नयाँ व्यवस्थापनले नियमित रूपमा सेवा सञ्चालन गर्नेछ,’ उनले बताए।
गत वैशाख १२ गते विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित गरिएका परिवारहरू हालसम्म कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका छन्।