काठमाडौँ । भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अवरोध गरेपछि चिया उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका छन्। भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी)का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएपछि नेपाली चिया उद्योग बन्द गर्नु परेको हो ।
भारतीय बजारमा चिया निकासी हुन नसक्दा उत्पादन गोदाममै थन्किएर बिग्रिन थालेपछि उद्योग सञ्चालन असम्भव भएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बतए । उनका अनुसार पहाडी क्षेत्रका अर्थोडक्स चिया उद्योगहरू आजैदेखि बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू असार ४ गतेदेखि बन्द हुनेछन्।
भारतीय पक्षले अनावश्यक झन्झट सिर्जना गर्दा आयातकर्ताहरू चिया खरिद गर्न अनिच्छुक बनेको गुप्ताले बताए। भारततर्फ चिया निर्यात गर्दा भन्सारमा नमुना संकलन गरी परीक्षणका लागि पठाइने र रिपोर्ट आउन १५ देखि २० दिनसम्म लाग्ने प्रक्रियाले व्यापारीहरूलाई निरुत्साहित गरेको छ। रिपोर्टमा सामान्य कमजोरी देखिए पनि चिया नष्ट हुने डरका कारण भारतीय व्यापारीहरू नेपाली चिया किन्न हच्किएको उनको भनाइ छ।
संघका अनुसार इलाममा वार्षिक करिब ६५ लाख किलो र झापामा करिब २ करोड किलो चिया उत्पादन हुन्छ, जसको करिब ९० प्रतिशत बजार भारतमा निर्भर छ। हाल भारतीय चिया बोर्डले करिब २ लाख किलो चिया आयातकर्ताको गोदाममै रोकिदिएको र निर्यात अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै बिग्रिने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन्।
उद्योगीहरूले सरकारबाट निर्यात सहजीकरणका लागि कुनै प्रभावकारी कूटनीतिक पहल नभएको गुनासो समेत गरेका छन्। उद्योग बन्द भएपछि पहाडका ५६ र तराईका ३० गरी ८६ चिया उद्योग प्रत्यक्ष प्रभावित भएका छन्।
उद्योग बन्द हुँदा हजारौं मजदुर र हरियो पत्ती बेच्ने किसानहरू प्रत्यक्ष मारमा परेको गुप्ताले बताए। चिया क्षेत्रको संकट समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको र चाँडै कूटनीतिक पहल हुने आशामा उद्योगीहरू रहेको पनि उनले बताए।