काठमाडौँ । आफुलाई ‘सीइओ क्लब ग्लोबल’को सञ्चालक बताउने काभ्रेका शम्भु पोखरेलमाथि आर्थिक ठगीको आरोप लागेको छ । उनले विभिन्न ब्यक्तिलाई ‘सीइओ क्लब’को सदस्य बनाई विदेश लैजाने सपना देखाई रकम असुल गरेर ठगी गरेको आरोप लागेको हो ।
रेसुङ्गा नगरपालिका-१० गुल्मीकी मनिषा बरालले आफूलाई अष्ट्रेलिया लैजाने सपना देखाएर पोखरेलले लाखौँ रुपैयाँ ठगेको आरोप लगाइन् । उनले आफूलाई ‘सीईओ क्लब’को सदस्य बनाएर विदेश जान सहज हुने आश्वासन दिइएको र त्यसका लागि रकम बुझाए पनि अष्ट्रेलिया नलगिएको र पैसा समेत फिर्ता नगरेको बताइन् ।
‘सन् २०२२ मा ब्याच्लर पास गरेपछि मास्टर्स पढ्नका लागि अष्ट्रेलिया जाने योजना बनाएकी थिए । सोही क्रममा विभिन्न कन्सल्टेन्सी धाउने क्रममा मेरो भेट उहाँसंग भएको थियो,’ बरालले भनिन, ‘पहिलो भेटमै उहाँले धेरै सपना देखाउनुभयो। सीईओ क्लबको सदस्य बने विदेश जान सहज हुन्छ भन्नुभयो। उहाँकै आग्रहमा म क्लबको सदस्य बनेँ ।’ । सदस्य बन्नका लागि आफुसंग करिव ७ लाख रुपैयाँ मागिएको र पैसा बुझाए पछि पनि काम नभए पछ आफु ठगिएको चाल पाएको उनले बताइन् ।
बरालका अनुसार पोखरेलले क्लबको विश्वव्यापी सञ्जाल भएको, विभिन्न देशका सीईओहरू आबद्ध रहेको तथा सदस्य बनेपछि जापान, युरोप, अमेरिका लगायतका देशमा हुने कार्यक्रमका निम्तो आउने दाबी गरेका थिए। तर सदस्य बनेपछि आफूले त्यस्ता कुनै कार्यक्रमको जानकारी वा निमन्त्रणा नपाएको उनले बताइन् ।
बरालले अष्ट्रेलिया जाने तयारीका क्रममा पोखरेललाई एकमुष्ट ६ लाख ६२ हजार रुपैयाँ दिएको बताइन्। ‘त्यतिबेला उहाँ आष्ट्रेलियामा हुनुहुँदो रहेछ । उहाँले अष्ट्रेलियाबाट सम्पर्क गरेर मलाई तुरुन्त पैसा पठाउन भन्नुभयो। विदेश जाने रहरका कारण परिवारसँग पैसा जुटाएर पठाएँ,’ उनले भनिन्।
तर अष्ट्रेलियाको भिसा सम्बन्धी नियम परिवर्तन भएको भन्दै आफू जान नसकेको र रकम फिर्ता गरिदिने आश्वासन दिइए पनि पूरा रकम नपाएको उनको आरोप छ।
‘अहिलेसम्म करिब दुई लाख रुपैयाँ मात्रै फिर्ता भएको छ। अझै चार लाख रुपैयाँ फिर्ता हुन बाँकी छ। पैसा माग्दा बजारमा समस्या छ, एकैपटक दिन सक्दिनँ भन्ने जवाफ आउँछ,’ उनले बताइन्।
बरालले दिल्लीमा भएको एक कार्यक्रममा सहभागी हुँदा पनि पोखरेलबारे नकारात्मक टिप्पणी सुनेको दाबी गरिन्। विदेशमा रहेका नेपालीहरूसँग चिनजान बढाएर लगानीका नाममा पैसा उठाउने, विभिन्न बहानामा रकम माग्ने तथा आफ्नो खर्चसमेत अरूलाई तिर्न लगाउने गरेको उनको आरोप छ ।
बिभिन्न ब्यक्तिलाई ठगी गरेको देखे पछि आफु ‘सीइओ क्लव’ नै नक्कली भएको निष्कर्षमा पुगेको उनले बताइन् । उनले भनिन्, ‘यो संस्था नै नक्कली हो जस्तो लाग्छ । क्लवको सदस्य बनाएर विदेश लैजाने बहानामा पैसा उठाउने र सोझा साझा मान्छेलाई ठग्ने काम गरिने रहेछ ।’
यता, आरोपित शम्भु पोखरेलले भने आफू कुनै म्यानपावर व्यवसायमा संलग्न नभएको र सीईओ क्लब विशुद्ध नेटवर्किङ संस्था भएको दाबी गरेका छन्।
‘हामी विदेश पठाउने वा बसोबासको व्यवस्था गर्ने संस्था होइनौँ। क्लबका सदस्यहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन पाउँछन्। कसैले कार्यक्रमको अवसरमा विदेश गएर त्यहीँ बस्ने योजना बनाउँछ भने त्यसको जिम्मेवारी हाम्रो हुँदैन,’ पोखरेलले भने।
पोखरेलले मनिषा बरालबाट रकम लिएको स्वीकार गर्दै संस्थागत रूपमा सदस्यता शुल्क फिर्ता गर्ने व्यवस्था नभएको बताए। तर व्यक्तिगत रूपमा रकम फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेको उनको भनाइ छ।
‘उहाँले दिएको रकम संस्थागत रूपमा रिफन्ड गर्न मिल्दैन। तर आफ्नै गाउँकी बहिनी जस्तै भएकाले व्यक्तिगत रूपमा फिर्ता गरिदिन्छु भनेको छु। आर्थिक समस्या भएकाले ढिलाइ भएको हो। दुई-चार महिनाभित्र रकम मिलाउने प्रयासमा छु,’ उनले बताए।
पोखरेलका अनुसार उक्त क्लबको सदस्य बन्न करिब ५ हजार अमेरिकी डलर लाग्ने र यो विभिन्न देशमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय नेटवर्किङ प्लेटफर्म हो।
मानव बेचबिखन वा विदेश पठाउने नाममा ठगी गरेको आरोपबारे सोध्दा उनले आरोप अस्वीकार गर्दै भने, ‘त्यो वाहियात कुरा हो।’
बरालले भने आफूले विश्वास गरेर रकम बुझाएको तर अपेक्षाअनुसार सेवा नपाएको र अझै रकम फिर्ता नपाएकाले न्यायको माग गरेकी छन्। रकम फिर्ता नभए कानुनी रुपमा मुद्धा दर्ता गर्ने उनको भनाई छ ।
‘सीईओ क्लब ग्लोबल’ मुख्य कार्यालय न्यूयोर्क, अमेरिकामा रहेको दाबी गरिएको एउटा अन्तर्राष्ट्रिय व्यावसायिक नेटवर्किङ प्लेटफर्मको रुपमा देखिन्छ। यस संस्थाले विश्वभरका कर्पोरेट कार्यकारी, उद्यमी, राजनीतिक नेतृत्व, कूटनीतिज्ञ र निर्णयकर्ताहरूलाई एउटै मञ्चमा ल्याएर व्यावसायिक साझेदारी, लगानीका अवसर, मर्जर तथा एक्विजिसन, र सीमापार (क्रस-बोर्डर) व्यापार विस्तारमा सहजीकरण गर्ने दाबी गर्दै आएको भेटिन्छ। मेम्बरसीप क्वालिफिकेसनमा लेखिएको विवरणअनुसार, संस्थाको सदस्यताका लागि न्यूनतम १० मिलियन डलर वार्षिक कारोबार भएका कम्पनीदेखि १ मिलियन डलर कारोबार भएका उद्यमी र स्टार्टअप संस्थापकहरू योग्य हुने उल्लेख छ।