विप्लवले कारबाही गरेपछि ‘जेल ब्रेकर’ उमा भुजेलको चुनौतीः महासचिवले एकताको कुरा गर्दा सही, हामीले गर्दा गलत?

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा (माओवादी) विप्लब समुहले सोमबार एक विज्ञप्ती जारी गरि पार्टी केन्द्रीय सदस्य उमा भुजेललाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरेको भन्दै एक विज्ञप्ती जारी गर्यो । उक्त विज्ञीतीलाई लिएर नेतृ भुजेलले आफुमाथि लगाइएका आरोपहरूलाई ‘सरासर झुट’ भएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्।

उनले देश र कम्युनिस्ट आन्दोलन संकटमा परेको अवस्थामा कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच एकताको कुरा गर्दा आफुलाई कारबाही गरिएको प्रस्ट पारिन् । भुजेलले पछिल्लो समय बढ्दो वैदेशिक हस्तक्षेप र राष्ट्रिय संकटको सन्दर्भमा कम्युनिस्ट, वामपन्थी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूबीच व्यापक मोर्चाबन्दी आवश्यक रहेको धारणा पनि दोहोर्‍याइन्।

उनले अहिलेको आवश्यकता कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकता र सहकार्य भएको उल्लेख गर्दै विभाजन र एक्लोपनाको राजनीतिले आन्दोलनलाई थप कमजोर बनाउने चेतावनी दिइन्। ‘महासचिव विप्लवले विगतमा आफैँ एकताको प्रस्ताव ल्याउँदा सही हुने, हामीले एकताको कुरा उठाउँदा गलत हुने?’ भन्दै उनले प्रश्न गरिन्। अहिलेको वस्तुगत परिस्थितिले कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै समाजवादतर्फ अघि बढ्न व्यापक एकता र मोर्चाबन्दीको माग गरिरहेको उनको भनाइ छ।

‘जेल ब्रेकर’ उपनामले चिनिएकी क्रान्तिकारी नेतृ भुजेलले पार्टीभित्र विचार, बहस र छलफल राख्नु कुनै पनि हालतमा पार्टीविरोधी गतिविधि नहुने जिकिर गरिन्। ‘क्रान्तिकारी पार्टीभित्र आफ्ना विचार राख्दैमा, बहस गर्दैमा कसरी कार्यदिशा विपरीत हुन्छ? कुन मार्क्सवादले यस्तो भन्छ ?’ उनले प्रश्न गरिन्।

आफूले पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको दाबी गर्दै भुजेलले पार्टीको संगठनात्मक अवस्था कमजोर हुँदै गएको, विचार र राजनीतिक प्रभाव घट्दै गएको तथा आन्दोलन र निर्वाचन दुवै क्षेत्रमा अपेक्षित परिणाम हासिल हुन नसकेको यथार्थलाई स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने धारणा केन्द्रीय समिति बैठकमा पटक-पटक राख्दै आएको उनले बताएकी छन् ।

‘हामीले अरूलाई मात्रै दोष दिएर अगाडि बढ्न सक्दैनौँ। आफ्ना कमजोरी पहिचान गरेर मात्रै सफलता हासिल गर्न सकिन्छ,’ उनले भनिन्।

भुजेलले पार्टी सचिवालय बैठकमा अनुपस्थित भएको विषयलाई लिएर गलत प्रचार गरिएको दाबी गर्दै आफू स्वास्थ्य समस्याका कारण बैठकस्थलसम्म पुग्न नसकेको र त्यसबारे केन्द्रीय कार्यालयलाई पूर्वजानकारी गराएको स्पष्ट पारिन्। ‘म बैठकमा जानका लागि बाटोसम्म पुगेकी थिएँ, तर धेरै टाढा हिँड्नुपर्ने भएपछि स्वास्थ्यले साथ नदिँदा केन्द्रीय कार्यालयलाई जानकारी गराएर फर्किएकी हुँ,’  उनले भनिन्।

पार्टी निर्माणको करिब १४ वर्षको यात्रालाई स्मरण गर्दै भुजेलले समाजवाद, जनसत्ता र सहिद तथा बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने उद्देश्यले आफूहरूले पार्टी निर्माण गरेको बताइन्। उनले पार्टीका हरेक निर्णय कार्यान्वयनमा आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै अहिले पार्टी कमजोर बन्दै गएको वास्तविकतालाई स्वीकार गरेर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन्।

को वर्तमान संकटको कारण नेतृत्व शैली, कार्यान्वयनको कमजोरी तथा सिद्धान्त र व्यवहारबीचको अन्तर रहेको टिप्पणी गरिन्। उनले कम्युनिस्ट आन्दोलनभित्र गम्भीर वैचारिक बहसको आवश्यकता औंल्याउँदै सम्पूर्ण वामपन्थी शक्तिलाई अहंकार त्यागेर एकताबद्ध हुन आह्वान गरिन्।

‘देश संकटमा छ, कम्युनिस्ट आन्दोलन संकटमा छ। अब को बढी क्रान्तिकारी भन्ने प्रतिस्पर्धाभन्दा पनि आन्दोलन जोगाउने र समाजवादको दिशामा अघि बढ्ने विषय प्रमुख हुनुपर्छ,’ उनले भनिन्।

पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय सार्वजनिक गरेपछि आएको यो प्रतिक्रिया माओवादी वृत्तमा नयाँ बहसको विषय बनेको छ।

सिफारिस