काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा परेको उजुरीका आधारमा पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनियमितताको अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको हो।
अख्तियार स्रोतका अनुसार राहदानी विभागले गरेको ई–पासपोर्ट तथा सम्बन्धित सामग्री खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान गरिरहेको थियो। सोही अनुसन्धानका क्रममा महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएर बयान तथा थप प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको बताइएको छ।
अख्तियारले सार्वजनिक खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन तथा निर्णय प्रक्रियामा संलग्न अन्य अधिकारीहरूको भूमिकाबारे पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ। राहदानी विभागको नेतृत्व गरिरहेका उच्च पदस्थ कर्मचारी पक्राउ परेपछि सरकारी निकायमा हुने सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र जवाफदेहितामाथि पुनः प्रश्न उठेको छ।