काठमाडौँ । प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका-५ जोगी पनेरा खहरे खोलामा आएको आकस्मिक भेलले बगाउँदा दुई दाजुभाइ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा यामबहादुर खत्री र डुनुमा खत्रीका ७ वर्षीय छोरा विमल खत्री र ९ वर्षीय छोरा मिलन खत्री रहेका छन्।
दुवै जना जनता प्राथमिक विद्यालयमा अध्ययनरत थिए। उनीहरू क्रमशः कक्षा १ र कक्षा ३ मा पढ्थे। मंगलबार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको भेलले उनीहरूलाई बगाएको स्थानीयले बताएका छन्।
विद्यालय प्रशासनका अनुसार सो दिन लगातार पानी परिरहेको थियो र शिक्षकहरूले बालबालिकालाई वर्षा रोकिएपछि मात्र घर जान आग्रह गरेका थिए। तर, बालकहरूले घर पुग्ने हतारो गर्दै प्लास्टिक ओढेर बाटो लागेको बताइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर केसीले भने शिक्षकहरूले रोक्ने प्रयास गरे पनि बालकले जिद्दी गर्दै घरतर्फ गएको बताएका छन्।
दुर्घटनापछि विमल खत्रीको शव मंगलबार राति र मिलन खत्रीको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । दुवै शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको उनले बताए ।
घटनापछि परिवार शोकमा डुबेको छ। ७ महिनाकी सानी छोरी काखमा बोकेकी आमा होसमा नरहेको र बाबु यामबहादुर खत्रीले एकातिर परिवार सम्हाल्दै अर्कोतिर छोराहरूको शव कुरिरहेको स्थानीयले बताएका छन्।