काठमाडौँ । सिरहाको औरही गाउँपालिका-४ स्थित श्री आधारभूत विद्यालय तेनुवापट्टी, ईटाटारमा अध्ययनरत एक दलित छात्रामाथि जातीय विभेद भएको घटना सार्वजनिक भएको छ। विद्यालयकी कक्षा १ की छात्रा अर्चना कुमारी महरा प्रथम भएता पनि दलित भएकै कारण प्रथम स्थानबाट नाम हटाइएको हो ।
अघिल्लो कक्षाको परीक्षा मूल्यांकनका आधारमा प्रथम स्थान हासिल गरेपनि उनको नाम हटाई अर्कैको नाम राखिएको अचृनाका परिवारको आरोप छ । पारिवारिक स्रोतका अनुसार प्रथम भएको खुसीमा उनले परिवार तथा गाउँसमुदायसँग खुसी साटासाट गरेकी थिइन्। तर पछि उनको नाम प्रथम स्थानबाट हटाइएको जानकारी पाएपछि उनी विद्यालय जानै छोडेको बताइएको छ। यस घटनाले उनको बाल मनोविज्ञानमा गम्भीर असर परेको परिवारको भनाई छ ।
परिवारले घटनाको वास्तविकता बुझ्न विद्यालय पुगेपछि कक्षा शिक्षिका रोशन कुमारी साहले जातीय आधारमा अर्चनालाई प्रथम स्थानबाट हटाई कथित उच्च जातिका विद्यार्थीलाई प्रथम स्थानमा राखेको पाइएको संगठनको आरोप छ। परिवारले यसबारे प्रतिवाद गर्दा शिक्षिकाले उल्टै “जे गर्न सक्छस् गर” भन्ने अभिव्यक्ति दिएको बताइएको छ।
घटनाविरुद्ध अर्चनाको परिवारले गत जेठ १९ गते जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दर्ता गरिसकेको जनाएको छ। संगठनले २१औँ शताब्दीमा पनि विद्यालयजस्तो ज्ञान आर्जनको थलोमा शिक्षिकाबाटै नाबालिका विद्यार्थीमाथि जातीय विभेदजन्य व्यवहार हुनु अत्यन्तै खेदजनक र निन्दनीय भएको भन्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनद्वारा जारी विज्ञप्तिअनुसार मुख्य आरोपित शिक्षिका रोशन कुमारी साह तथा घटनामा संलग्न अन्य व्यक्तिमाथि हदैसम्मको कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सिरहा, स्थानीय सरकार तथा विद्यालय प्रशासनको ध्यानाकर्षण गराएको छ।
पीडितले न्याय नपाए र दोषीमाथि कारबाही नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। यस विषयमा विद्यालय प्रशासन तथा आरोपित पक्षको प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ।