काठमाडौँ । दलित युवालाई लखेटी-लखेटी भिरबाट खसालेर हत्या गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय प्युठानमा उजुरी दर्ता गरिएको छ । गत जेठ २ गते प्यूठान जिल्ला नौबहिनी गाउँपालिका–६ का १९ वर्षीय मधु सुनारलाई खाजा खाने क्रममा स्थानीय गैरदलित युवाहरुले डुकुङधारा भिरबाट खसालेर हत्या गरिएको भन्दै उजुरी दर्ता गरिएको हो ।
पीडित परिवारका अनुसार जनज्योति माध्यमिक विद्यालय फूलवारी नजिक खाजा खाने क्रममा मधु सुनार, विनोद बिक लगायत केही युवामाथि सोही गाउँका ४२ वर्षीय केशव केसीसहितका व्यक्तिहरूले आक्रमण गरेका थिए। उक्त घटनामा केही व्यक्ति गम्भीर घाइते भएको र मधुलाई लखेटी भने डुकुङधारा भिरबाट खसालेर हत्या गरिएको बताइएको छ ।
घटनापछि मृतकका आमा पुतला सुनारले जिल्ला प्रहरी कार्यालय प्यूठानमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गराएकी थिइन्। घटनामा संलग्न दोषीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत कडा कारबाही गर्नु पर्ने उनको माग छ ।
सोही जाहेरीका आधारमा प्रहरीले आरोपितहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। यद्यपि, पीडित पक्षले घटनालाई कर्तव्य ज्यानका रूपमा अनुसन्धान गरी कडा कारबाही गर्नुपर्नेमा मुद्दा कमजोर बनाउने प्रयास भएको आरोप लगाएको छ। उनीहरूले जिल्ला प्रहरी कार्यालयले तयार पारेका कागजात र अनुसन्धान प्रतिवेदनलाई बेवास्ता गर्दै सरकारी वकिल कार्यालयबाट भवितव्य ज्यानतर्फ मुद्दा लैजान खोजिएको दाबी गरेका छन्।
पीडित पक्षले रकमको चलखेलमार्फत घटनाका दोषीलाई उन्मुक्ति दिने प्रयास भएको आरोपसमेत लगाएको छ। दोषीहरू धरौटीमा रिहा भएपछि गाउँमा गएर खुसीयाली मनाएको भन्दै स्थानीयवासी र पीडित परिवारले असन्तुष्टि व्यक्त गरेका छन्।
उनीहरूले मुलुकी अपराध संहिता अन्तर्गत कर्तव्य ज्यानसम्बन्धी व्यवस्था अनुसार निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, घटनामा दोषीलाई उन्मुक्ति दिन भूमिका खेलेको ठहरिएमा सरकारी वकिल कार्यालय प्यूठानका जिम्मेवार अधिकारी तथा कर्मचारीमाथि पनि आवश्यक कारबाही हुनुपर्ने माग गरेका छन्।
मृतकका आमा पुतला सुनार, बुवा विष्णु सुनार तथा श्रीमती माया सुनारले जिल्ला प्रहरी कार्यालयमा न्यायको माग गर्दै निवेदन दिएका छन्। उनीहरूले घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
