पासपोर्ट छपाइ अनियमितता प्रकरणः पूर्वमन्त्री आरजु देउवालाई बयानका लागि अख्तियारद्वारा पत्राचार

दियोपोस्ट संवाददाता  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको छ। आयोगले सूचना टाँस भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र बयान दिन उपस्थित हुन निर्देशन दिएको हो।

आयोगले दुई दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेलीको सूचना टाँसेको थियो। उक्त सूचनामार्फत आयोगले देउवालाई काठमाडौंको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन निर्देशन दिएको जनाएको छ।

आयोगले तोकिएको अवधिमा उपस्थित नभए कानुन बमोजिम प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ। अख्तियारले राहदानी छपाइ सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर भएको भन्ने उजुरीमाथि अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका क्रममा देउवासँग बयान लिन आवश्यक भएको भन्दै आयोगले सूचना जारी गरेको हो।

यसअघि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित केही कर्मचारीलाई पक्राउ गरिसकेको छ। साथै, राहदानी छपाइसँग सम्बन्धित ठेकेदार कम्पनीका प्रतिनिधिलाई पनि बयानका लागि बोलाइएको बताइएको छ।

यता, गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा दम्पती हाल हङकङ मा रहेको स्रोतको भनाई छ ।

सिफारिस