काठमाडौँ । पासपोर्ट खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाली कांग्रेस नेतृ तथा पूर्वमन्त्री आरजु राणा देउवाले इमेलमार्फत आफ्नो धारणा पठाएकी छन्।
अख्तियारले बयानका लागि उनको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेपछि देउवाले आफू हाल उपचारका लागि विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत गराएकी हुन्।
स्रोतका अनुसार उनले पठाएको इमेलमा स्वास्थ्य उपचारका कारण विदेशमा बसिरहेको उल्लेख गर्दै आयोगले तोकेको समयमा उपस्थित हुन असमर्थ रहेको व्यहोरा समावेश गरिएको छ। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान अघि बढाउँदै अख्तियारले देउवाको घरमा म्याद तामेल गरेको थियो। उक्त म्यादअनुसार बाटोको समयबाहेक तीन दिनभित्र आयोगमा उपस्थित हुन भनिएको थियो।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी देउवा तथा उनका पति, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, केही समयदेखि विदेशमा रहेका छन्।