काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले आफ्नो जन्मदिनकै दिन सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। बिहीबार जारी गरेको वक्तव्यमार्फत उनले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा मात्रै रहने निर्णय सार्वजनिक गरेका हुन्।
करिब ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र परिवर्तनका यात्रामा सक्रिय भूमिका निर्वाह गर्दै आएका महराले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट बिदा लिन बाध्य भएको बताएका छन्।
वक्तव्यमा उनले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेपाली कम्युनिष्ट पार्टीसम्म आइपुग्दा आफ्नो जीवनको महत्वपूर्ण समय, क्षमता र ऊर्जा पार्टी, आन्दोलन, देश तथा जनताको सेवामा समर्पित गरेको उल्लेख गरेका छन्।
महराले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन नसकेको बताएका छन्। स्वास्थ्यका कारण पार्टीका गतिविधि र जिम्मेवारीहरूमा विगतझैँ सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्न कठिन बन्दै गएको उनको भनाइ छ।
यही यथार्थलाई स्वीकार गर्दै उनले आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको बताएका छन्। उनले आफ्नो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पारेका छन्।
महराले पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैँ इमानदार र प्रतिबद्ध रहेको उल्लेख गर्दै आन्दोलनका स्मृतिहरू, सहकर्मीहरूको आत्मीयता तथा देश र जनताप्रतिको प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त नहुने बताएका छन्।
उनले आफ्नो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने विश्वास व्यक्त गरेका छन्। साथै नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनीहरूको सफलतामै आफ्नो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहने बताएका छन्।
वक्तव्यको अन्त्यमा महराले आफ्नो लामो राजनीतिक यात्राका क्रममा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
