कृष्ण बहादुर महराकी छोरीको भावुक सन्देश- ‘सत्य एक दिन ठूलो स्वरमा बोल्नेछ’

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्व सभामुख तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले आफ्नो ६९औँ जन्मदिनकै अवसरमा बिहिबार सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरे । जन्मदिनका दिन सार्वजनिक गरिएको उनको वक्तव्यले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला उनकी छोरी प्रगती महराले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेखेकी छन्।

प्रगतीले आफ्नो स्टाटसमा बुवाले सिंगो जीवन देश, जनता र परिवारका लागि निस्वार्थ भावले समर्पित गरेको उल्लेख गर्दै उनको त्याग, निष्ठा र संघर्षको स्मरण गरेकी छन्। उनले लेखेकी छन्, ‘आमा-बुवाहरू कहिल्यै चाँडै बूढो नभइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ। सिंगो जीवन देश र जनताका लागि समर्पित गर्नुभयो, आफू मात्र होइन सबै परिवारलाई नै समाहित गराउनुभयो।’

प्रगतीले बुवाको निष्ठा, इमान्दारिता, सहनशीलता र धैर्यलाई आजको समयमा दुर्लभ गुणको रूपमा चित्रण गर्दै कठिन परिस्थिति र निरन्तरका आरोपबीच पनि उनी अडिग रहेको उल्लेख गरेकी छन्। उनले सत्य सत्य नै रहन्छ भन्दै एक दिन संसारले ‘निर्दोष महरामाथि बारम्बार प्रहार र अन्याय किन भयो?’ भन्ने प्रश्न गर्ने उल्लेख गरेकी छन् ।

बुवाको वर्तमान अवस्था सम्झँदै उनले हरेक दिन उनको अनुहारमा हराएको खुसी, एक्लोपन र छटपटी देख्दा मन भक्कानिने गरेको समेत उल्लेख गरेकी छन्। ‘के-के गरियो, भोगियो र कहाँ आइयो भन्ने सोच्दा मन धेरै पटक भक्कानिन्छ, तर समयले अवश्य जवाफ दिनेछ,’ उनले लेखेकी छन्।

कृष्णबहादुर महराले जन्मदिनकै अवसरमा सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका बेला छोरी प्रगतीको यो भावुक अभिव्यक्तिलाई धेरैले पारिवारिक पीडा, संघर्ष र भावनाको अभिव्यक्तिका रूपमा लिएका छन्।

सिफारिस