काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि मध्यरातिदेखि सुरु भएको मतदान नारायणघाटस्थित उद्योग संघको सभाहलमा जारी रहेको छ। मतदान आज दिउँसो १२ बजेसम्म सञ्चालन हुने कार्यतालिका तय गरिएको छ।
निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ। विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूलाई भने मोबाइल एपमार्फत आफ्नै स्थानबाट मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ। यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि पदाधिकारी चयनका लागि निर्वाचन गराइने तयारी गरिएको छ।
रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि मात्र महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। पार्टी विधानमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान छ। तीमध्ये ९९ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन हुनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते भरतपुरमा उत्साहपूर्ण वातावरणमा उद्घाटन गरिएको थियो। तर महाधिवेशन प्रतिनिधिहरूको टुंगो लगाउने विषयमा देखिएको अन्योलका कारण बन्दसत्र व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको बताइएको छ। यही कारण असार ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशनको अवधि लम्बिएको छ।