काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा कर्मचारीहरूले कामकाज गरिरहेका बेला अभद्र व्यवहार गर्दै लेखा शाखामा बाहिरबाट ताला लगाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार त्रिपुरासुन्दरी गाउँपालिका-३ निवासी ४९ वर्षीय सुरेन्द्र वाँडाले गाउँपालिकामा भुक्तानी सम्बन्धी रित नपुगेको फाइल पेश गरी विवाद सिर्जना गरेका थिए। उनले कर्मचारीहरूलाई गालीगलौज गर्ने, धम्की दिने तथा अभद्र व्यवहार गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहालका अनुसार वाँडा केही समयपछि मादक पदार्थ सेवन गरी ताला र चाबी लिएर गाउँपालिकाको लेखा शाखामा पुगेका थिए। त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत कामकाज गरिरहेको अवस्थामा उनले अनधिकृत रूपमा बाहिरबाट ताला लगाई कार्यालयको कामकाजमा अवरोध पुर्याएका थिए।
गाउँपालिकाको कार्यालयबाट प्राप्त पत्र जाहेरीका आधारमा प्रहरीले सुरेन्द्र वाँडालाई असार ९ गते पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।
