ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट आइइएलटिएस साझेदार संस्थाहरू सम्मानित

दियोपोस्ट संवाददाता  

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आइइएलटिएस सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने साझेदार संस्थाहरूलाई सम्मान गरेको छ। २५ जुन २०२६ मा आयोजित ‘आइइएलटिएस पार्टनर समिट’ मा देशभरका विभिन्न शैक्षिक परामर्श संस्था तथा साझेदारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ब्रिटिस काउन्सिल र साझेदार संस्थाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै नेपालमा अन्तर्राष्ट्रिय शैक्षिक अवसर र योग्यतामा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धतालाई पुनः दोहोर्याइएको थियो। सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्मको अवधिमा आइइएलटिएस दर्तामा उत्कृष्ट प्रदर्शन गर्ने साझेदार संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर प्रतिष्ठा थापा रायमाझीले साझेदार संस्थाहरूले हजारौं नेपाली युवालाई अन्तर्राष्ट्रिय शिक्षा, करियर तथा विश्वव्यापी अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनले साझेदारहरूको प्रतिबद्धता र मार्गदर्शनले विद्यार्थीलाई आफ्नो लक्ष्य हासिल गर्न आत्मविश्वास प्रदान गरेको उल्लेख गर्दै निकट भविष्यमै कम्प्युटरमार्फत सञ्चालन हुने आइइएलटिएस सेवा ९क्ष्भ्ीत्क् यल ऋयmउगतभच० विस्तार गरिने जानकारी दिइन्। यसबाट परीक्षार्थीले थप सहज रूपमा परीक्षा दिन सक्ने, छिटो नतिजा प्राप्त गर्ने तथा बजारको आवश्यकता अनुसार परीक्षा सञ्चालन गर्न सकिने उनको भनाइ थियो।

त्यसैगरी ब्रिटिस काउन्सिल नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले साझेदार संस्थाहरूले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले कम्प्युटरमा आधारित आइइएलटिएस सेवाको विस्तारसँगै अंग्रेजी भाषा परीक्षणलाई अझ सहज, पहुँचयोग्य र प्रभावकारी बनाइने उल्लेख गरे। आइइएलटिएससँगै रोजगारदाता तथा अन्य संस्थाहरूका लागि अंग्रेजी भाषा शिक्षण, सिकाइ र मूल्यांकनसम्बन्धी सेवा पनि विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

समिटको उद्देश्य नेपाली विद्यार्थी तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी र आप्रवासनका अवसरमा पहुँच विस्तार गर्न आइइएलटिएस सेवामार्फत योगदान पुर्‍याउने साझेदार संस्थाहरूको भूमिका सम्मान गर्नु रहेको ब्रिटिस काउन्सिलले जनाएको छ।

प्लेटिनम पार्टनर अवार्ड, अर्बिट मेडिकल इन्ट्रान्स प्रा.लि., टप एसोसिएसन अवार्ड, एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान), गोल्ड अवार्ड, केआइइसी लर्निङ सेन्टर प्रा.लि., सिल्भर अवार्ड, द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि., ब्रोन्ज अवार्ड, एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्, एइसीसी स्टडी अब्रोड कन्सल्टेन्ट प्रा.लि.,ए.ओ.पी. ग्लोबल कन्सल्टेन्ट, आइइएलटिएस सेन्टर प्रा.लि., ब्रिज इन्टरनेसनल ग्रुप प्रा.लि.लाई सम्मान गरिएको थियो ।

यसका साथै विभिन्न क्षेत्रीय कार्यक्रममा उत्कृष्ट योगदान पुर्‍याउने साझेदार संस्थाहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जानकारी दिए । सम्मानित संस्थाहरूमा चितवन–हेटौंडाको द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी, घोराही-नेपालगञ्जको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस्, इटहरी–विराटनगरको सुमेधा एजुकेसन नेटवर्क, बिर्तामोड एजुकेसन फाउन्डेसन तथा पोखराको मिराकल इन्स्टिच्युट प्रा.लि. रहेका छन्।

ब्रिटिस काउन्सिलका अनुसार आइइएलटिएस विश्वभर उच्च शिक्षा, रोजगारी तथा आप्रवासनका लागि सबैभन्दा बढी मान्यता प्राप्त अंग्रेजी भाषा दक्षता परीक्षण प्रणाली हो। विश्वका १२ हजारभन्दा बढी शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा व्यावसायिक निकायले यसलाई मान्यता दिएका छन्। आइइएलटिएस ब्रिटिस काउन्सिल, आइडीपी आइइएलटिएस र क्याम्ब्रिज एसेस्मेन्ट इङ्लिसको संयुक्त पहलमा सञ्चालन हुँदै आएको छ।

ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके)को अन्तर्राष्ट्रिय सांस्कृतिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने संस्था हो। यसले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषामार्फत विश्वभरका मुलुकबीच समझदारी, विश्वास र सहकार्य विस्तार गर्ने कार्य गर्दै आएको छ।