गाउँपालिकाको कार्यालयमा ताला लगाई कामकाज अवरुद्ध गर्ने व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता  

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा कर्मचारीहरू कामकाज गरिरहेका बेला मादक पदार्थ सेवन गरी कार्यालयको लेखा शाखामा बाहिरबाट ताला लगाएर काममा अवरोध पुर्‍याउने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी ४९ वर्षीय सुरेन्द्र वाँडा रहेका छन्।

गाउँपालिकाको कार्यालयको जाहेरीका आधारमा प्रहरीले सुरेन्द्र वाँडालाई सोही दिन पक्राउ गरेको हो। उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार आइतबार बिहान करिब १०ः३० बजे सुरेन्द्र वाँडा भुक्तानीसम्बन्धी रीत नपुगेको फाइल लिएर गाउँपालिकाको कार्यालय पुगेका थिए। उनले फाइलको विषयलाई लिएर विवाद सिर्जना गर्नुका साथै कर्मचारीहरूमाथि गालीगलौज र धम्की दिँदै अभद्र व्यवहार गरेका थिए।

प्रहरीका अनुसार केही समयपछि उनले मादक पदार्थ सेवन गरी ताला र चाबी लिएर गाउँपालिकाको लेखा शाखामा प्रवेश गरेका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत कामकाज गरिरहेकै अवस्थामा बाहिरबाट ताला लगाई कार्यालयको नियमित कामकाजमा अवरोध पुर्‍याएका थिए।

उनी माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।