यान्सुब तेक्वान्दो डोजाङ प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन

दियोपोस्ट संवाददाता  

काठमाडौं । यान्सुब तेक्वान्दो डोजाङ प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको समग्र टिम च्याम्पियन बनेको छ। यान्सुबले १५ स्वर्ण, ८ रजत र १० कांस्य पदक जित्दै उपाधि आफ्नो नाममा लेखायो।

कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग तथा कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा चन्द्र सूर्य तेक्वान्दो डोजाङ १४ स्वर्ण, १२ रजत र १३ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो। त्यस्तै, थली तेक्वान्दो डोजाङले ७ स्वर्ण, ४ रजत र १४ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो। शीर्ष तीन टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको ग्योरोगी विधातर्फ पुरुषमा मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङ र महिलातर्फ थली तेक्वान्दो डोजाङकी पेमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। पुम्से विधामा पुरुषतर्फ चन्द्र सूर्य तेक्वान्दो डोजाङका प्रिन्सकुमार राम तथा महिलातर्फ सोही डोजाङकी रेन्जिङ चौलागाईं उत्कृष्ट खेलाडी चुनिए।

विजेता खेलाडी तथा टोलीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा, राष्ट्रिय खेलकुद परिषद्की पूर्व कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का तथा आयोजक समितिका अध्यक्ष राजकुमार श्रेष्ठलगायतले पुरस्कार तथा सम्मान प्रदान गरे।

यसै अवसरमा छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्ने गिरिश श्रेष्ठ, रजत विजेता इशाक तामाङ, आयुश साउद र सीमा जर्गा मगर तथा कांस्य विजेता नेरिया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। उनीहरू सबै कागेश्वरी मनोहरा नगरपालिकाका खेलाडी हुन्।

थलीस्थित कागेश्वरी मनोहरा नगरपालिकाको भवन परिसरमा आयोजित एकदिने प्रतियोगितामा विभिन्न ४५ स्पर्धामा २५५ खेलाडी सहभागी भएको आयोजक समितिका सचिव विश्वास अर्यालले जानकारी दिए।

सिफारिस