लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायद्वारा इन्द्रेणी रोपाइँ जात्रा, मौलिक संस्कृति संरक्षणमा जोड

दियोपोस्ट संवाददाता  

ललितपुर। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले ‘समावेशिता, विविधता र सद्भावका बीउ रोपौँ’ भन्ने मूल नारासहित ललितपुरमा इन्द्रेणी रोपाइँ जात्रा मनाएका छन्। मायाको पहिचान नेपाल, लिड नेपाल र समावेशी मञ्च नेपालको संयुक्त आयोजनामा पाटन दरबार स्क्वायर परिसरमा सम्पन्न कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा धान रोपाइँ गर्दै सांस्कृतिक विविधताको सन्देश दिएका हुन्।

कार्यक्रमका लागि ललितपुर महानगरपालिकाले स्थान उपलब्ध गराएको थियो भने एक्सन एड नेपाल र डाकिनी हस्पिटालिटीले सहयोग गरेका थिए। सहभागीहरू परम्पराअनुसार पुरुष-महिला तथा महिला-पुरुषको भेषमा सजिएर रोपाइँमा सहभागी बनेका थिए।

आयोजकका अनुसार नेपालकै मौलिक संस्कृति, परम्परा र चाडपर्वसँग लैङ्गिक तथा यौनिक विविधताको पहिचान जोड्ने उद्देश्यले इन्द्रेणी रोपाइँ जात्रा मनाइँदै आएको छ। नियमित रूपमा आयोजना हुन थालेको यो जात्रा तेस्रो वर्षमा प्रवेश गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले इन्द्रेणी रोपाइँ जात्रा केवल कृषि कर्ममा सीमित नभई नेपालको इतिहास, संस्कृति र विविधताको सम्मान गर्ने उत्सव भएको बताए।

उनले धान खेतीको इतिहास हजारौँ वर्ष पुरानो रहेको उल्लेख गर्दै रोपाइँलाई सभ्यता, सहकार्य, श्रम र सामुदायिक जीवनसँग जोडिएको सांस्कृतिक अभ्यासका रूपमा व्याख्या गरे। उनका अनुसार हाम्रा पुर्खाहरूले धानसँगै सम्बन्ध, संस्कार र सामाजिक एकताको मूल्य पनि रोपेका थिए।

रोपाइँ जात्रामा पुरुषले महिलाको र महिलाले पुरुषको भूमिका निर्वाह गर्ने परम्पराले समाजमा भूमिका आदानप्रदान, विविध अनुभव र पारस्परिक सम्मानको सन्देश दिने पन्तको भनाइ थियो। उनले मानव समाज केवल दुईवटा लैङ्गिक सीमामा मात्र सीमित नरहने भन्दै नेपालको परम्पराले विविध लैङ्गिक अभिव्यक्तिलाई ऐतिहासिक रूपमा स्थान दिएको दाबी गरे।

उनले गाईजात्रा, मारुनी, नटुवा, सिंगारु, रतेउली, धामी–झाँक्री, लाखे, ख्याः र क्वाँचाःलगायतका सांस्कृतिक परम्परामा लैङ्गिक विविधताको अभिव्यक्ति देखिने उल्लेख गरे। मेटी, फूलुमुलु, नपुंसक, पण्डक, तृतीय प्रकृति, बराँठ, हिजडा र जनानाजस्ता ऐतिहासिक शब्दावलीले नेपालको आफ्नै लैङ्गिक तथा यौनिक विविधताको समृद्ध परम्परा झल्काउने उनले बताए।

पन्तले अन्तर्राष्ट्रिय प्राइड आन्दोलनले समान अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको स्वीकार गर्दै नेपालको लैङ्गिक तथा यौनिक विविधताको इतिहास भने आफ्नै मौलिक संस्कृति र परम्परासँग जोडिएको उल्लेख गरे। विश्वव्यापी मानवअधिकार आन्दोलनसँग सहकार्य आवश्यक भए पनि त्यसको अर्थ आफ्नो सांस्कृतिक पहिचान त्याग्नु नहुने उनको भनाइ थियो।

उनले पछिल्लो समय विदेशी शब्द, प्रतीक र संस्कृतिलाई मात्र प्रगतिशीलताको मापदण्ड मान्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै आफ्नै इतिहास, संस्कृति र शब्दावलीको संरक्षणमा जोड दिए। विकास साझेदार र दाता संस्थाहरूलाई समेत स्थानीय संस्कृति, परम्परा र रैथाने ज्ञानको संरक्षण तथा प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरे।

नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अरूको प्रतिलिपि बन्न आवश्यक नरहेको उल्लेख गर्दै उनले नेपालको आफ्नै इतिहास, संस्कृति र विविधतामै गौरव गर्नुपर्ने धारणा राखे।

इन्द्रेणी रोपाइँ जात्राले आत्मविश्वास, सांस्कृतिक गौरव र विविधताप्रतिको सम्मानलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले समान अधिकार र सांस्कृतिक समृद्धिसहितको नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरे। साथै उनले सम्पूर्ण नेपालीमा असार १५ तथा इन्द्रेणी रोपाइँ जात्राको शुभकामना व्यक्त गरे।

सिफारिस