काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि विनियोजन गरिएको बजेटमा अनियमितता भएको भन्दै बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५-७६ मा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत छविसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ निकासा गरिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त बजेट तथा कार्यक्रमअनुसार उक्त रकमको खर्च, लेखा व्यवस्थापन, लेखापरीक्षण तथा बेरुजु फर्छ्यौटको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो।
मन्दिर निर्माणका लागि स्वीकृत लागत अनुमान ५६ लाख सात हजार ८९७ रुपैयाँ रहेकोमा उपभोक्ताको सहभागितातर्फ ११ लाख सात हजार ८९७ रुपैयाँ तथा कन्टिन्जेन्सी शीर्षकमा दुई लाख २५ हजार रुपैयाँ छुट्याइएको थियो।
तर, अनुसन्धानका क्रममा वास्तविकभन्दा बढी काम भएको देखाई अस्वाभाविक दररेट कायम गरिएको, सम्झौताअनुसार कट्टा गर्नुपर्ने जनसहभागिता रकमसमेत समायोजन नगरी नक्कली बिल-भरपाईका आधारमा २२ लाख एक हजार ६६५ रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ।
उक्त अनियमिततामा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब-इन्जिनियर बमबहादुर बोहराविरुद्ध २२ लाख एक हजार ६६५ रुपैयाँ बिगो दाबी गरिएको छ।
त्यसैगरी छविसपाथीभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला तथा वडा नं.६ का तत्कालीन वडाध्यक्ष मोहनलाल विकविरुद्ध पनि सोही बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
यस्तै, बाँठपाली देवता मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो तथा कैद सजायको माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।