राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोकमा भएको दाबी

दियोपोस्ट संवाददाता  

गोरखा । प्रा.डा. जगमान गुरुङ र इतिहासविद् डा.दिनेशराज पन्तले राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका-६ स्थित सिरानडाँडामा भएको दाबी दोहोर्याएका छन्। गोरखाको अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित ‘नेपाल एकीकरण अभियानका महान् सेनापति वडाकाजी वीर अमरसिंह थापाको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले गहिरो ऐतिहासिक अध्ययन, उपलब्ध दस्तावेज र पुराना ग्रन्थका आधारमा उक्त निष्कर्षमा पुगेको बताएका हुन्।

प्रा.डा. गुरुङले सिरानचोक नै अमरसिंह थापाको जन्मस्थल रहेको र यही क्षेत्र गोरखा दरबार जाने ऐतिहासिक मार्गसमेत भएको बताए। उनका अनुसार अमरसिंह थापा तथा उनका पिता उमराव भीमसिंह थापाको बसोबाससँग यो क्षेत्र जोडिएकाले स्थानीयवासीले दुवैको शालिक स्थापना गरेका हुन्। लामो समयदेखि यस स्थानको अवलोकन गर्ने इच्छा पूरा भएको भन्दै उनले खुशी व्यक्त गरे।

उनले पृथ्वीनारायण शाहका सेनापति उमराव भीमसिंह थापाको निधनपछि अमरसिंह थापा गोरखा दरबारमा हुर्किएर सैनिक तालिम प्राप्त गरेको र नेपाल एकीकरण अभियानमा अतुलनीय योगदान दिएको उल्लेख गरे। जन्मस्थलमै पुगेर श्रद्धाञ्जली अर्पण गर्न पाउँदा आफूलाई गौरव महसुस भएको उनको भनाइ थियो।

प्रा.डा. गुरुङले नाटककार वालकृष्ण समको ‘अमरसिंह’ कृतिमा सिरानचोकलाई जन्मस्थलका रूपमा उल्लेख गरिएको तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति सूर्यविक्रम ज्ञवालीद्वारा लिखित ‘नेपालको इतिहासमा अमरसिंह थापा’ पुस्तकमा पनि सोही तथ्य समेटिएको बताए।

सामाजिक सद्भाव जोगाउन आग्रह

कार्यक्रममा बोल्दै प्रा.डा. गुरुङले बाह्य प्रभावका कारण नेपाली समाजमा विभाजन बढाउने प्रयास भइरहेको भन्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे।

उनले जातीय तथा सामुदायिक आधारमा समाजलाई विभाजित गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै अमरपुरलाई राष्ट्रिय एकताको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरे। उनका अनुसार अमरसिंह थापाको नाममा पार्क निर्माणका लागि मगर समुदायले जग्गा दान गरेको, गुरुङ समुदायले पहल गरेको र ब्राह्मण समुदायले व्यवस्थापनमा योगदान दिएको छ। उनले यसलाई राष्ट्रिय एकताको प्रेरणादायी नमुना भएको बताए।

अंग्रेजसँगको युद्धमा अमरसिंह थापाले कुनै पनि प्रलोभनमा नपरी राष्ट्रप्रति अटल निष्ठा प्रदर्शन गरेको स्मरण गर्दै उनले उनी बगाले थापा वंशअन्तर्गतका थापा भएको पनि उल्लेख गरे।

अमरपुरको ऐतिहासिक महत्व अझ बढ्ने विश्वास

प्रा.डा.गुरुङले अमरपुर क्षेत्रको ऐतिहासिक महत्व अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गरे। नेपाली भाषा, संस्कृति र राष्ट्रिय एकताको विकासमा मगर, गुरुङ, राईलगायत विभिन्न समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले सबैलाई राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गरे।

इतिहासविद् पन्तको पनि उही दाबी

इतिहासविद् डा. दिनेशराज पन्तले विसं २०३७ सालदेखि गोरखाको इतिहासमाथि अध्ययन गर्दै आएको जानकारी दिँदै चार खण्डमा गोरखाको इतिहास लेखिसकेको बताए।

उनका अनुसार गोरखा जिल्लाको इतिहास करिब १,३०० वर्ष पुरानो छ। गोरखा दरबारस्थित हनुमान भञ्ज्याङमा लिच्छविकालीन राजा द्वितीय शिवदेव र जयदेवका शिलालेख रहेको उल्लेख गर्दै उनले गोरखा प्राचीन सभ्यता र इतिहासको केन्द्र भएको बताए।

डा. पन्तले वडाकाजी अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना सतलज पार गर्दै काँगडादेखि रावी नदीसम्म पुगेको स्मरण गर्दै उनी राष्ट्रका लागि समर्पित, निष्ठावान र लोभ–लालचबाट टाढा रहेका वीर सेनापति भएको बताए।

उनले अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै भएको दाबी दोहोर्याउँदै यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गरे। साथै, जन्मस्थलको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ तथा राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानलाई धन्यवाद दिए।

ऐतिहासिक स्थलहरूको अवलोकन

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संरक्षक क्याप्टेन रामेश्वर थापाको नेतृत्वमा प्रा। डा। जगमान गुरुङ, डा. दिनेशराज पन्त, पूर्वमन्त्री विक्रमबहादुर थापा, प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न क्षेत्रका १७ जना विशिष्ट व्यक्तित्वले अमरपुरस्थित अमरसिंह थापा र उमराव भीमसिंह थापाको शालिक, श्रीनाथ गण तथा ऐतिहासिक गढीको स्थलगत अवलोकन गरेका थिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, वडा नं.६ का अध्यक्ष प्रेमप्रसाद बस्ती, गाँखु–काठमाडौं समाजका अध्यक्ष मिलन पोखरेल, समाजसेवी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना

अमरपुरमा राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक स्थापना भएपछि यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले पार्कसम्म मोटरबाटो, खानेपानी, शौचालय र विश्रामस्थलको व्यवस्था गरिसकेको छ।

स्थानीयका अनुसार पछिल्लो समय बाहिरी जिल्लाबाट जग्गा खरिद गर्नेको संख्या बढ्दै गएको छ। कुमाउ र गढवाल क्षेत्रका भारतीय पर्यटकहरू पनि अमरसिंह थापाको जन्मस्थल अवलोकन गर्न इच्छुक भए पनि सडक पूर्वाधार पर्याप्त विकास नभएकाले अपेक्षित संख्यामा पर्यटक भित्रिन सकेका छैनन्। पूर्वाधार विस्तार भए अमरपुर गोरखाको ऐतिहासिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।

साउन १६ मा स्मृति दिवस

राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको स्मृतिमा प्रत्येक वर्ष साउन १६ गते अमरपुरमै स्मृति दिवस मनाइँदै आएको छ। यस वर्ष पनि सोही स्थानमा विशेष कार्यक्रम आयोजना गरिने स्थानीय युवा राजेन्द्र अर्यालले जानकारी दिए।

यसै क्रममा इतिहासविद्हरूको टोलीले श्रीनाथ मण्डली, ऐतिहासिक कोट तथा टुँडिखेलको समेत अवलोकन गरेको थियो। स्थानीयसँगको छलफलमा प्रा। डा। गुरुङले तल्लो पामका विद्वान झाँगल गुरुङले पृथ्वीनारायण शाहका दिव्योपदेश तयार पार्न महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक उल्लेख रहेको जानकारी गराएका थिए।

कार्यक्रमका सहभागीहरूले सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ, राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान तथा गाँखु–काठमाडौं एकता समाजको समन्वयमा ऐतिहासिक अध्ययन र स्थलगत अवलोकनको महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन्।

सिफारिस