भत्किएको तारबार स्थानियले उठाए, रंगशाला निर्माणमा अवरोध नगर्ने लिखित सहमती

दियो पोस्ट  

काठमाडौँ, जेठ १८ । धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको जस्ता र तारबार स्थानियले उठाएका छन् । गत वुधबार रंगशालाको कम्पाउण्ड घेरेर लगाइएको जस्ता र तारबारमाथि स्थानियले डोजर लगाएका थिए । चौतर्फी आलोचना र विरोध भएपछि स्थानिय जनप्रतिनिधि र संघसंस्थाका अधिकारीहरु उपस्थित भएर सहमती गरेपछि स्थानीयहरुले तारबार उठाएका हुन् ।

राष्ट्रिय महत्वको विषय भएको कारण चौतर्फी आलोचना भएको थियो । विशेषगरि धुर्मुस सुन्तली फाउण्डेशनले सुरक्षा चुनौती भएको उल्लेख गर्दै काम गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । रंगशालाको कम्पाउण्ड भत्काइएपछि विदेशमा भएका नेपालीहरुले सामाजिक संजालको उपयोग गरेर घटनाको घोर निन्दा र आलोचना गरेका थिए । शनिबार भएको सहमतीअनुसार स्थानियले रंगशाला निर्माणमा कुनैपनि किसिमको रोकावट नगर्ने लिखित सम्झौतासमेत गरेको बताइएको छ ।

स्थानीय टोलबासीले रंगशाला निमार्णको लागि सहज वातावरण बनाउनका लागि सद्भाव र्‍यालीसमेत गरेका छन्। बुधबार बार भत्काएपछि घटनाको चौतर्फी विरोध भएको थियो। बार भत्काएको आरोपमा स्थानीय प्रकाश कँडेलसहित १८ जना प्रहरी नियन्त्रणमा छन्। उनीहरुले बाटो खुलाउनका लागि फाउण्डेशनसँग जग्गा माग गर्दै बार भत्काएका थिए।

पक्राउ परेका सबैविरुद्ध मुद्दा दर्तासँगै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। घटना पश्चात धुर्मुस सुन्तली फाउण्डेशनले सुरक्षाको माग गर्दै काम नै रोकेको थियो। स्थानीय सरकारले काम तत्काल अघि बढाउन आग्रह गरेको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सुरक्षित वातावरण भए तत्काल काम सुरु हुने जानकारी दिए।

सिफारिस