काठमाडौँ,जेठ १८ । राजधानिमा आयोजित एक कार्यक्रममा वोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’
अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भैरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको पनि जिकिर गरे ।
उनले भने,‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन्।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ ।
उनले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्वको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे ।
पुँजीगत खर्च ४५ प्रतिशतभन्दा बढि हुन नसकेकोमा खड्काले गुनासो पोखे । उनले भने,‘हामीले प्राप्त गरेको मन्त्रालयगत पुँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ, एकदमै कम छ ।’
खड्काले सामाजिक सुरक्षाको दायित्व बढि भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए । पछिल्लो दश महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै खड्काले बजेट कार्यान्वयनमा पनि समस्या रहेको सुनाए ।
३५ अर्वभन्दा बढिको चामल आयात हुने गरेको सुनाउँदै उनले कृषिजन्य सामान त १ खर्ब हाराहारीमा आयत हुने गरेको पनि सुनाए । उनले भने,‘नेपालको अर्थतन्त्र लाहुरे खालको छ ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पारेका छन् ।
गजुरेलले भने,‘यो कुरा त पहिलेदेखि नै मिडियामा आईरहेका कुरा हुन् । उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भैसकेको छ ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे ।
उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’–उनले थपे ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ । उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ ।’
यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ । तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे । उनले भने,‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन ।’
त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो । उनले भने,‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त ?’