विप्लव समूहका पोलिटब्यूरो सदस्य राई सत्तारुढ नेकपामा प्रवेश, प्रचण्ड भन्छन्, विप्लव पनि आउनुको विकल्प छैन !

दियो पोस्ट  

काठमाडौं, जेठ १९ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय कार्यलय धुम्बाराहीमा एक कार्यक्रम गरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टीमा प्रवेश गराएका हुन् ।

राईलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले ढिलो चाँडो नेत्रविक्रम चन्द विप्लव पनि नेकपामा जोडिनै पर्ने दावी गरे ।

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी नेत्र विक्रम चन्द विप्लव समूहमा लागेका थिए । उनी विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए ।

जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा पनि उनी सहभागी भएका थिए । पार्टी प्रवेशसँगै राईले आफू कम्युनिष्टहरु एक भएर अघि बढ्नुपर्ने पक्षमा रहेको भन्दै आफू सत्तारुढ नेकपामा समर्पित भएर काम गर्ने बताए । उनले विप्लवसँग जस्तो आशा गरिएको हो त्यो अनुसार नभएकोले पार्टी प्रवेश गरेको बताए ।