काठमाडौँ,जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औंपचारिक जानकारी गराएको हो ।
प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्नु हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनु भयो । त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गर्नुहुनेछ ।
त्यहाँ अक्र्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु हुनेछ । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनुहुनेछ ।
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्नुहुने बताउनु भयो । प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कनु हुने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।