‘राजदुतसंग गफगाफ’ कार्यक्रम कुटनीतिक मर्यादा विपरित, सरकार मौनता प्रति नेकपा नेता रावलको आपत्ती

दियो पोस्ट  

काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी राजदुत ¥याण्डी बेरीका कूटनीतिक मर्यादा विपरितका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेता रावलले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिएपछि व्यवहारमा सरकारले सोही अनुसार काम गरेर देखाउन नसकेको पनि स्पष्ट पारे ।

अमेरिकी राजदुत बेरीले ‘राजदुतसँग गफगाफ’ कार्यक्रम संचालन गर्नु कूटनीतिक मर्यादा विपरित भएपनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको भनाई छ । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले भियना अभिसन्धि विपरित अमेरिकी राजदुत बेरीले सो कार्यक्रम संचालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको ? भनि सरकारलाई प्रश्न पनि गरे ।

नेता रावलले सरकारले देश प्रेममा सघाउ पु¥याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरेपनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएकोमा आपत्ति जनाए ।

केही दिन अघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो । त्यसप्रति नेता रावलको आपत्ति छ । सो विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो ।

नेता रावलले बजेटमा उल्लेख गरिएका राम्रा कामलाई कार्यान्वयनमा लैजान जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।