काठमाडौँ, जेठ २० । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुको प्रहरी चौकी आक्रमणको खण्डन गरेको छ । पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ती जारि गर्दै सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति आफ्नो पार्टीको नीति नभएको समेत स्पष्ठ पारेका छन् ।
विप्लव समुहद्धारा प्रहरी चौकीमा आक्रमण प्रयास भनेर संचारमाध्यमहरुमा आएको समाचार अतिरञ्जित भएको र नियोजित रुपमा षड्यन्त्र गरिएको समेत आरोप लगाएको छ । साथै आफ्नो पार्टीको बारेमा गलत प्रचारबाजीप्रति गम्भिर ध्यानाकर्षण भएको समेत स्पष्ट पारेका छन् ।
उनले प्रहरी चौकी आक्रमणको कुनै घटना नभएको दाबी गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप ‘फेक न्युज’ सार्वजनिक गराइएको पनि दाबी गरेका छन् ।

यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको सार्वजनिक भएको थियो । प्रहरीले भने थप सुरक्षाका लागि विपदको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रमा पठाइसकेको छ ।