राजधानीमा इदको रौनक, आज देशैभरि सार्वजनिक बिदा

दियो पोस्ट  

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमजान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । इदका अवसरमा काठमाडौंमा रहेका मुस्लिम समुदाय काठमाडौंको घण्टाघरस्थीत कश्मिरी मस्जिदमा पुगी नमाज पाठ गरेका छन् ।

यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् ।

काठमाडौं घण्टाघरस्थिम दुई मस्जिदमा बिहानै मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिन्छ । इदको अर्थ उत्सव र मुवारकको अर्थ धन्य भएकाले इद उलफित्र पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन् ।

आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन् ।

यस पर्वमा एकअर्कालाई उपहार दिनाका साथै पर्वमा सेवइलगायत परिकार पकाएर खाने गरिन्छ । यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सिफारिस