काठमाडौँ, जेठ २२ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधी होडमा त्रिभुवन आर्मी क्लवले आफ्नो स्थान सुरक्षित गरेको छ । बुधबार प्रदेश–३ लाई स्तब्ध बनाउँदै त्रिभुवन आर्मी क्लव प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश नम्बर तीन १ सय १७ रनले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३ सय ९ रन बनाएको थियो । फराकिलो लक्ष्यका लागि आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ७५ रनको योगदान गरे । २३ रनमा पहिलो विकेट गुमाएको आर्मीका लागि हरी चौहान र राजु रिजालले दोस्रो विकेटका रुपमा ७३ रनको साझेदारी गरे । जसमा हरीले ३८ रन बनाए भने राजुले ५१ रनको योगदान गरे ।
यस्तै कुशल मल्लले १७ बलमा २६ रन जोडे । त्यसपछि उसका लागि रोहित कुमार पौडेलले ४३ तथा राजेश पुलामीले २९ रन थपे । यसका साथै करण केसीले २१ र कप्तान विनोद भण्डारीले विस्फोटक ७५ रनको योगदान गरे । उनले ४२ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । बलिङमा नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले दुई दुई विकेट लिए ।
जवाफमा प्रदेश तीन ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ९२ रन बनायो ।सुरुवात राम्रो गर्न नसकेको आर्मीले १३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ४८ रनमा तीन विकेट खेर फालेको उसका कुनै पनि खेलाडी विच दरिलो साझेदारी हुन सकेन । उसका लागि इसान पाण्डेले अविजीत ७९ रन बनाउदा कप्तान पारस खड्का १९, ज्ञानेन्द्र मल्ल २६ तथा आदिल खानले १५ रनको योगदान गरे ।अन्तिममा इसान र नन्दन यादवले नबौ विकेटका लागि अर्धसतकीय साझेदारी गरेपनि टिमको हार टरेन । बलिङमा आर्मीका साहव आलमले तीन विकेट हात पारे । अब उपाधिका लागि आर्मीले एपीएफ र नेपाल पुलिस विचको विजेतासँग खेल्नेछ ।