पशुपति विकास कोषमा डेढ अर्ब नगद, अचल सम्पत्तीको खबौँ मुल्यांकन !

दियो पोस्ट  

काठमाडौँ, जेठ २२ । पशुपति विकास कोषमा खर्बौँ बराबरको चलअचल सम्पत्ती रहेको सार्वजनिक भएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरको चल अचल सम्पत्तीको विवरण पत्ता लगाउनका लागि छानविन समिति बनाएको थियो । सोही छानविन समितिले कोषको नाममा खरबौँ रकम रहेको विवरण सार्वजनिक गरेको हो ।

कोषमा एक अर्ब २९ करोड ३८ लाख ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा नगद रहेको खुलेको छ । अन्य अचल सम्पत्तीहरुमा ८९.५६ तोला सुन र १२ हजार ९९ दशमलव ७१ तोला चाँदी रहेको देखिएको छ ।

अन्य अचल सम्पत्तीहरुमा विभिन्न क्षेत्रमा कुल ६ हजार ७ सय रोपनी जग्गा रहेका छन् । जसमध्य ३ हजार ६ सय ६७ रोपनी, ४ आना तिन दाम दर्ता भइसकेको छ भने २ सय ३१ रोपनी १० आना एक पैसा दर्ता हुने प्रक्रिया अगाडी बढेको छ ।

यसको अलवा पशुपति विकास कोषकै एक हजार एकसय ६१ रोपनी १४ आना ३ दाम क्षेत्रफलको जग्गा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्षलाई ९९ वर्षका लागि भाडामा दिएको बताइएको छ ।

त्यस्तै कोषको करिब १७ रोपनी जग्गा भने मोहीको रुपमा तारागाउँ रिजेन्सी होटलले भोगचलन गरिरहेको समेत प्रतिवेदनमा खुलाइएको छ । यी बाहेक अझै मन्दिरको सम्पत्ति लुकेको हुन सक्ने र व्यक्ति विशेषले आफुखुशी भोगचलन गरिरहेको हुनसक्ने जनाउँदै कोषले त्यस्ता सम्पत्तिहरुको खोजीकार्य जारी राखिएको पत्रकार सम्मेलनमा बताएको छ ।

यसै अवसरमा कोषले पशुपति मन्दिरको मुख्य ढुकुटी अझैसम्म नखोलिएको र उक्त ढुकुटीमा अर्बौ÷खर्बौको सम्पत्ति हुन सक्ने जनाएको छ ।

सिफारिस