‘जनयुद्धको कमजोरीहरुको जिम्मा म लिन्छु, त्यतिबेलाको माओवादीले लिन्छ र प्रचण्डले लिनुहुन्छ’: जनार्दन शर्मा

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २३ । नेपाल कम्युनिस्ट पार्टीका सांसद तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले तात्कालिन माओवादीले गरेका जनयुद्धले नै देशले अहिलेको उपलब्धी हाँसिल गरेको बताएका छन् । विहीबार प्रतिनिधिसभामा बोल्दै सांसद शर्माले तात्कालिन माओवादीले हाँकेको जनयुद्धकै कारण निरंकुश राजसंस्थाको अन्त्य भई देश संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आएको बताए ।

जनयुद्ध मार्फत देशको परिवर्तन गर्ने कमाण्डर आफु पनि भएकोले त्यसबाट आएको उपलब्धीहरुलाई नकार्न नसक्ने उनले बताए । देशमा यत्तिको उपलब्धीहरु आइसक्दा पनि देश जुन ढंगले अगाडी बढ्न पर्ने हो त्यसरी अगाडी बढ्न नसकेको समेत उनले बताएका छन् । आफ्नो राम्रो मात्र देख्ने र अरुको गल्तीमात्र देख्ने प्रवृत्तीको कारण नै देश अगाडी बढ्न नसकेको बताउँदै सांसद शर्माले सामुहिक रुपमा गल्तीको स्वीकार गर्दै सामुहिक रुपमा उपलब्धीहरुलाई पनि लिनुपर्ने बताएका छन् ।

पुर्व उर्जामन्त्री समेत रहेका नेता शर्माले जनयुद्धबाट उपलब्धी संगसंगै केही कमजोरीहरु सिर्जना भएको स्वीकार गरे । तत्कालिन समयमा आफुले पनि जनयुद्धको कमाण्ड गरेको र एक पुर्वकमाण्डरको हैसियतले त्यतिबेला भएको कमजोरीहरुको जिम्मा लिने समेत उद्घोष गरेका छन् । ‘ त्यतिबेला भएका कमजोरीहरुको जिम्मा म लिन्छ, तात्कालिन माओवादीले लिन्छ र कमरेड प्रचण्डले लिनुहुन्छ’ उनले भने ।

सांसद शर्माले सकारात्मक कुराहरुलाई सकारात्मक रुपले लिनका लागि सबै पार्टीका नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् । सत्तापक्ष र प्रतिपक्षको रुपमा प्रस्तुत नभई जनताको भलो र राष्ट्रको निर्माणमा एकजुट भएर लाग्न अपिल गरेका छन् ।

विगतका सरकार र त्यसलाई चलाउने पार्टीहरुले पनि धेरै कमी कमजोरीहरु रहेको र त्यसलाई स्वीकार गरि अघि बढ्न समेत नेता शर्माले आग्रह गरेका छन् । उनले प्रतिपक्षलाई पानीमाथिको ओभानो बन्न नखोज्न समेत अनुरोध गरे ।

नेकपा सरकारले ल्याएको बजेटको विषयमा छलफल चलिरहँदा नेता शर्माले बजेटमाथि पनि केही कमजोरीहरु औँल्याएका छन् । यसअघिका बजेटले कर्णालीको नाम पनि नलिएको तर अहिलेको बजेटले कर्णाली प्रदेशलाई सम्वोधन गरेको भन्दै धन्यवाद दिएका छन् । तर बजेटले भ्रष्टाचार रोक्ने कुरालाई सम्वोधन नगरेको र सामाजिक न्यायको विषयमा मौन भएको आरोप लगाए ।

नेता शर्माले कर्मचारीको तलब प्रतिशतमा बढाएको प्रति असन्तुष्ट पोखे । त्यस्तै संघियताको मर्म बमोजिम बजेट नआएको समेत बताएका छन् । बजेटमात्र छुट्याइएको तर त्यसलाई कसरी कार्यन्वयन गर्ने भन्ने विषयमा मौन भएको यसबाट पुँजीगत खर्च घट्ने र चालु खर्च बढ्ने बताए ।

प्रतिनिधि सभामा बोल्दै सांसद शर्माले विगतका अर्थमन्त्रीले जस्तै अहिलेका अर्थमन्त्रीले गल्ती गरेको आरोप लगाए । पुराना अर्थमन्त्रीले गरेका गल्तीहरुलाई अहिलेको अर्थमन्त्रीले सच्याउन नखोजेको भन्दै अर्थमन्त्री युवराज खतिवडासंग यसको कारणसमेत सोधेका छन् । ‘हिजो बन्द गरिएका उद्योग कलकारखाना हरुलाई जनता र राज्यको उपस्थितिमा पुन खोलिने कार्यक्रम खोई ?’ नेता शर्माले प्रश्न गरे, ‘वैदेशीक रोजगारमा गएकाहरुलाइ नेपाल फर्काउने नीति कहाँ छ ?’

सम्बन्धित खबर

सिफारिस