काठमाडौँ, जेठ २३ । प्रदेश एकले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहीबार भएको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले आगामी बर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।
प्रदेश एकको नीति तथा कार्यक्रमले अत्याधिक मात्रामा पुरानै कामहरुलाई निरन्तरता दिएको छ । अघिल्लो बर्ष सम्पन्न नभएका परियोजना तथा उद्धेश्यहरुलाई यस बर्षको नीति तथा कार्यक्रमले पुनः सम्वोधन गरेको छ । कार्यक्रमहरुमा सडक निर्माण, पुल निर्माण, विमानस्थल तथा खेलमैदान निर्माणलाई पुन निरन्तरता दिएको छ ।
कोशी राजमार्ग विस्तारको काम संचालनमा रहेको तर सम्पन्न नभइसकेको हुनाले यस बर्ष पनि सो राजमार्गको निम्ति प्रदेश सरकारले विशेष रुपमा बजेट विनियोजन गर्ने भएको छ । त्यस्तै विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थलको रुपमा विकास गर्ने र विराटनगर खेल मैदानलाई रात्रीकालिन समयमा पनि खेलकुद गराउन सकिने गरि विकास गरिने समेत कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेश एकको जनताको जीवनस्तरलाई माथि उकास्नका लागि प्रदेश भित्र रोजगारी सिर्जना गर्नका लागि पनि सरकारले विशेष प्राथमिकता दिएको छ । त्यसका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्र्याउने लक्ष्य प्रदेश सरकारको रहेको छ । लगानी संरक्षणको लागि एकद्वार कर प्रणालीको विकास गर्ने समेत प्रदेश सरकारको तयारी रहेको छ । स्थानिय स्तरमा उत्पादनहरुलाई बढाउनका लागि कृषीलाई व्यवसायीकरण र आधुनिकीकरण बनाउने समेत कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले पुँजीगत बजेट जेठ मसान्त भित्र खर्च गरिसक्ने गरि विकास निर्माणको कामलाई तिब्रता दिने समेत घोषणा गरेको छ । जसका लागि यी र यस्ता योजनाहरु सरकारले ल्याएको छ । हेर्नुहोस प्रदेश एकको नीति तथा कार्यक्रमको पुर्णपाठ ।