काठमाडौँ, जेठ २३ । सुदुरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भीषण हावाहुरीले धनजनको ठुलो मात्रामा क्षति पुर्याएको छ । हावाहुरीको कारण १ जनाको मृत्यु भइसकेको छ भने ४० भन्दा धेरै घाइते भएका छन् ।
साँझ ८ बजेतिरबाट शुरु भएको हावाहुरीको कारण सैयौँ घरको छाना उडाएका छन् भने हजारौँ विस्थापित भएका छन् । हावाहुरीसंगै असिनापानी पनि आएपछि स्थानिय सर्वसाधरण गम्भिर समस्यामा फसेका छन् । हावाहुरीबाट कैलालीको धनगढीमा १० जना घाइते भएका छन जसमध्य केहीको अवस्था निकै गम्भिर भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरमा ३० जनाभन्दा धेरै घाइते भएका छन् । अत्याधिक मात्रामा हावाहुरी र भीषण आँधीको कारण उद्धारमा समस्या भएको कारण मानविय क्षतिको यकिन तथ्यांक अझै आउन बाँकी रहेको दुवै जिल्लाको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।
हावाहुरीमा परि कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । हावाहुरीको कारण बृद्ध तथा बालबालिकालाई थप असर गर्ने र उद्धारकार्यमा लागिरहेको भएपनि सर्वसाधरणसमेत आफु सकेसम्म जोगिएर बस्न जिल्ला प्रहरी कार्यलयले आग्रह गरेको छ ।