काँग्रेस नेता गोविन्दराज जोशी जोगाउने खेलमा अख्तियार, भ्रष्टाचार मुद्धाको फाइल नै दम्पच !

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काँग्रेस नेता तथा भ्रष्टाचार मुद्धाका आरोपित गोविन्दराज जोशीलाई जोगाउने खेलमा लागेको तथ्य सार्वजनिक भएको छ । जोशीको भ्रष्टाचार मुद्धाको सक्कल फाइल नै अख्तियारबाट गायभ भएपछि भ्रष्टाचारीको आरोपीलाई जोगाउन अख्तियार नै लागि परेको सार्वजनिक भएको हो ।

विहीबार सर्वोच्च अदालतले भ्रष्टाचार मुद्धामा मुछिएका काँग्रेस नेतालाई कारवाही गर्न अख्तियारले नै साथ नदिएको निष्कर्ष निकाल्दै तत्काल मुद्धाको सक्कल मिसिल अदालतमा बुझाउन आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले जोशीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने २०६० साल वैशाख २५ गतेको निर्णयसहितको सक्कल मिसिल, फायलसमेत लिई अदालतमा उपस्थित हुन सचिव स्वयंलाई आदेश दिएको हो । अदालतलाई कागजात नबुझाउनु आपत्तिजनक भन्दै कारवाही तथा सजाय किन गर्नु नपर्ने भन्ने स्पष्टिकरण समेत अख्तियार अधिकारीलाई सोधिएको छ ।

जोशीविरुद्धको भ्रष्टाचार तथा अकुत सम्पत्तिसम्बन्धी मुद्दाको सक्कल मिसिल ५ वर्षदेखि नदिएको भन्दै सर्वोच्चले आयोगका सचिवसहितका अधिकारीलाई कारवाहीको चेतावनी समेत दिएको हो । सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नै कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र भ्रष्टाचार मुद्दाको सक्कल मिसिल र अन्य कागजात उपलब्ध गराउन आदेश दिएको हो ।

अख्तियारले कांग्रेस नेता जोशीविरुद्ध २०६० असोजमा भ्रष्टाचार मुद्दा चलाएको थियो । विशेष अदालतले उनलाई सफाइ दिएपछि अख्तियार सर्वोच्चमा पुनरावेदनका लागि गएको थियो । सर्बोच्च अदालतले २०७१ असोज २९ गतेनै सो मुद्दा सम्बन्धित ०६० को अभिलेख पठाउन आदेश दिए पनि त्यस यता पटक पटक अटेरी गरेको र भेटिएन भन्दै पन्छिएको आदेशमा उल्लेख छ ।

हेर्नुहोस् सर्वोच्चको आदेश

सम्बन्धित खबर

सिफारिस