
काठमाडौँ, जेठ २५ । सुन्दर यातायात प्रालि का अध्यक्ष भेष बहादुर थापाले आफ्नो विरुद्ध संचारमाध्यममा आएको समाचारको खण्डन गरेका छन् । गत जेठ २२ गते दियोपोस्ट डटकममा ‘परराष्ट्र मन्त्री ज्ञवालीसंगै अमेरिका लैजान्छु भन्दै भेष बहादुरको असुली धन्दा’ शीर्षकमा प्रकाशित भएको समाचारमा कुनै सत्यता नरहेको भन्दै उनले खण्डन गरेका हुन् । 
दियोपोस्ट डटकममा समाचार प्रकाशित भएको मितिमै पैसा बुझाएको र सम्वन्धित व्यक्तिले बैँकमार्फत पैसा समेत पाइसकेको थापाले बताएका छन् । सम्वन्धित व्यक्तिले बैँकबाट पैसा लिएको स्टेटमेन्ट थापाले दियोपोस्टलाई उपलब्ध गराएका छन् ।

उनले कुमार थापाको गाडी आफुले चढेको र सो गाडीको किस्ता समेत तिरिरहेको दावि गरेका छन् । किस्ता तिरेको भौचर उपलब्ध गराउँदै कुमार र आफुबिच कुनैपनि कारोबार बाँकी नरहेको बताएका छन् । ‘मेरो कारोबार तथा निजि जीवनमा बाधा पुग्नेगरि भ्रमपुर्ण समाचारले मलाई दुःखी तुल्याएको छ’, खण्डनमा भनिएको छ ‘अनलाइनमा प्रकाशित समाचारमा कुनैपनि सत्यता नभएको र त्यसका प्रमाणहरु मसंग सुरक्षित रहेको सबैमा जानकारी गराउँदछु’ ।


